बुटवल,२४ असाेज ।
रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रमा स्थानीय र प्रहरीबीच भएको झडपमा प्रहरीले गोली चलाउदा ७ जना घाइते भएका छन् ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।औद्योगिक क्षेत्रकाे कब्जा गर्न आएको समूहले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि गोली चलाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । गोली लागेर कम्तीमा ५ जना घाईते भएको स्थानीयले बताएका छन्
अहिले मोतीपूर क्षेत्र तनाबग्रस्त बनेको छ । अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट प्रहरीले स्थानीयलाई हटाउन खोज्दा तनाब सिर्जना भएको हो ।

प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा झडप भएको बताइएको छ ।

बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको प्रहरीले जनाएको छ ।

प्रशासनले तीन दिनदेखि रातीमा टहराहरु भत्काइदिदैं आएको थियो।

तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो।

जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले शशक्त विरोध गरेका थिए ।