बुटवल,२१ असोज ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला अझै नियन्त्रण बाहिर रहेको छ ।
नगरपालिकाको वडा नं ७, ८ र ९ मा मंगलबार रातिदेखि झाडापखाला महामारीको रूपमा फैलिएको थियो ।

झाडापखालाबाट वडा नं ९ का ४५ वर्षका रामप्रसाद केवटको घरमै र वडा नं ८ का ७ वर्षका राज कश्यपको निजी मेडिकलमा मृत्यु भएको थियो । तीन वटा वडाका ३०४ चार जना झाडापखालाका बिरामी अस्पताल भर्ना भएकामा अझै ११० जना उपचाररत रहेकाे स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

बिरामीको चापलाई व्यवस्थित गर्न अस्पतालका बिरामीहरुलाई सामान्य, मध्यम र जटिल गरी वर्गीकरण गरी सामान्य बिरामीहरुलाई नजिकैको महेन्द्र प्रा.वि मा राखी उपचार गर्ने व्यवस्था मिलाइएको छ । अन्यलाई शिवराज अस्पताल र रामगोर्खा माविमा भर्ना गरेर उपचार गराइरहेका शिवराज अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट मुकेश चौधरीले जानकारी दिए ।

झाडापखालाका बिरामी अस्पताल आउने क्रम बढ्दो क्रममा नै रहेको डा. चौधरी बताउंछन् । ‘कतिपय डिस्चार्ज गरेका बिरामी पनि फेरि भर्ना हुन आएका छन्’ उनले भने, ‘रातिभन्दा बिरामीको संख्या फेरि बढेको छ,अहिल्यै नियन्त्रणमा आयो भन्न सकिने अवस्था छैन ।’

तीन जना डाक्टरसहित स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेको उनले बताए । छिमेकी नगरपालिका शिवराज र तौलिहवाबाट पनि स्वास्थ्यकर्मी बिरामीको उपचारका लागि शिवराज आएका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले भने झाडापखाला नियन्त्रणउन्मुख अवस्थामा आएको बताए ।

झाडापखालाको कारण दूषित पानी र सरसफाइको अभाव भएको प्रारम्भिक अध्ययनबाट देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । प्रभावित गाउँका बासिन्दाले ओभरहेड टंकीमार्फत वितरित धारा र ह्याण्डपम्पको पानी प्रयोग गर्ने गर्छन् । तर कुन धाराको पानी दूषित हो भन्ने यकिन भएको छैन ।

विभिन्न स्थानको पानी र केही बिरामीको दिशाको नमूना संकलन गरी जाँचको लागि प्रयोगशालामा पठाइसकिएको तर रिपोर्ट अझै आइनसकेको स्वास्थ्य कार्यालय प्रमुख पाण्डेले बताए ।
प्रभवित क्षेत्रका सबै घरधुरीमा शौचालय पनि नहुँदा कतिपय परिवार खुला स्थानमा शौच गर्ने अवस्था भएको नगर प्रमुख रजतप्रताप शाह बताउँछन् ।

तराईको सुगम जिल्ला भएपनि कपिलवस्तु र त्यसमा पनि भारतसँग सीमा जोडिएको कृष्णनगर क्षेत्र मानव विकास सूचकांकका हिसाबले पछाडि परेको क्षेत्र हो ।

शिक्षा र जनचेतनाको कमीका कारण सरसफाइमा ध्यान नदिंदा झाडापखाला फैलिएको प्रमुख जिल्ला अधिकारी चक्र पाण्डेले बताए ।

स्वास्थ्य कार्यालयका प्रमुख पाण्डेले झाडापखाला प्रभावित वडाका बासिन्दालाई राम्रोसँग उमालेर सफा पानी मात्र प्रयोग गर्न आग्रह गरे ।