पाल्पा,६ भदौ ।
पाल्पाको तानसेनस्थित श्रीनगर गणेश मन्दिर परिसरमा श्री ७ रणउजिरेश्वरी भगवती युवा क्लबले सरसफाइ अभियान सञ्चालन गरेको छ । भदौ १५ गते हुने ऐतिहासिक गणेश जात्रा तथा त्यसको अघिल्लो दिन आयोजना हुने जाग्रामलाई लक्षित गर्दै क्लबले मन्दिर परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ गरेको हो ।

धार्मिक तथा सांस्कृतिक पर्वका अवसरमा मन्दिर परिसरमा ठूलो संख्यामा भक्तजन तथा श्रद्धालुहरूको आवागमन हुने भएकाले स्वच्छ, सफा र व्यवस्थित वातावरण निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष आकाश श्रेष्ठका अनुसार गणेश जात्रा तथा जाग्राममा भक्तजनको उल्लेख्य सहभागिता रहने भएकाले जात्रा सुरु हुनुअघि नै मन्दिर परिसरको सरसफाइ तथा आवश्यक व्यवस्थापनलाई प्राथमिकता दिइएको हो । उनले धार्मिक तथा सांस्कृतिक पर्वलाई सभ्य, व्यवस्थित र वातावरणमैत्री बनाउन स्थानीय समुदाय, सुरक्षा निकाय तथा सामाजिक संघसंस्थाबीचको सहकार्य आवश्यक रहेको बताए । उनले क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा सरसफाइ तथा सामाजिक अभियान सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने बताए ।

सरसफाइ अभियानमा नेपाली सेना, नेपाल प्रहरी तथा श्री ७ रणउजिरेश्वरी भगवती युवा क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले मन्दिर परिसर, प्रवेश तथा आवतजावत गर्ने बाटो, आसपासका खुला क्षेत्रलगायत स्थानमा रहेका फोहोर संकलन गरी व्यवस्थापन गरेका थिए । सरसफाइ अभियानमा सहभागी श्रीनगर गणेश मन्दिरका गुठीयार हिमाल दत्त श्रेष्ठले धार्मिक तथा सांस्कृतिक पर्वको संरक्षणसँगै त्यससँग जोडिएका स्थलको स्वच्छता र व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने बताए । उनले गणेश जात्रा पाल्पाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण जात्रा भएकाले यसको संरक्षण र व्यवस्थापनमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

श्रीनगर सरसफाई अभियान्ता शम्भु आचार्यले गणेश जात्रा र अघिल्लो दिन हुने जाग्रामलाई व्यवस्थित बनाउन सरसफाइ अभियान सञ्चालन गरिएको बताए । गणेश समिति सदस्य दिपा श्रेष्ठले क्लब परिवार र सुरक्षा निकाय टोल बिकास संस्थालाई गणेश मन्दीर परिसरमा सरसफाई गरेकोमा धन्यबाद दिए । क्लबका उपाध्यक्ष सरिन शाक्यको स्वागत र सचिव सन्तोष श्रेष्ठकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।