बिरगञ्ज,२० असोज ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन् । आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने तयारी भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
मुख्यमन्त्री राउतले विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेश सभा बैठक बोलाइएको छ ।
१०४ सदस्य रहेको प्रदेश सभामा सरकारको नेतृत्व गर्ने जसपाका ३८, कांग्रेसका १९, माओवादी केन्द्रका आठ र नेकपा (एकीकृत समाजवादी) का १३ गरी ७८ जना सदस्य अर्थात सुविधाजनक बहुमत रहेको छ ।
प्रदेश २ मा जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री राउतले सत्ता साझेदार दलहरूका प्रदेश सभा सदस्य संख्याका आधारमा सहजै विश्वासको मत प्राप्त गर्ने जनाइएको छ । जनता समाजवादी पार्टी विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल गठन भएपछि प्रदेश नं. २ का मुख्यमन्त्री राउतलाई विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
प्रमुख प्रतिपक्षी दल लोसपाका नेता जितेन्द्र सोनलले राउत सरकार अवैधानिक भएको दाबी गरेका छन् । प्रदेश सरकारबाट जानकी मन्दिरको गरिमामाथि खेलबाड भएको भन्दै आफूहरूले आजको बैठक अवरोध गर्ने नेकपा एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले बताए ।
जसपाबाट छुट्टिएको लोसपा नेपालले गएको भदौ ९ मा निर्वाचन आयोगबाट राजनीतिक दलको मान्यता पाएकाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान उल्लंघन भएको उनको दाबी छ ।
यद्यपी बागमती प्रदेश र प्रदेश नं १ नेकपा एमालेले अल्पमतको सरकार चलाइरहेको छ ।
बागमती प्रदेश र प्रदेश नं १ नेकपा एमालेले सदनबाट बिश्वासको मत नलिई अल्पमतको सरकार चलाइरहेको छ भने आफ्नो नेतृत्व नभएको संघीय सरकार र अन्य प्रदेशहरुमा सदन अबरोध गर्दै आएको छ ।






