बुटवल,१४ असोज ।
लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा.इन्द्र ढकालले पाएका छन् ।
बिहीबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र खनाललाई प्रादेशिक कोभिड अस्पताल निर्देशक समितिको संयोजकको जिम्मेवारी दिई डा. ढकाललाई निमित्त मेसुको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैठकले प्रदेशका मुख्यन्यायाधिवक्ताको संयोजकत्वमा गठित प्रदेश कानून मस्यौदा कार्यदलको सदस्यमा अधिवक्ता महेन्द्र पाण्डे,पशुपति भण्डारी,ज्ञानु केसी र तिर्थराज ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने उद्यम विकास कोष सञ्चालन नियमावली २०७८ संशोधन गरी कोषबाट २० लाख सम्म ऋण लिन पाउने निर्णय गरेको आर्थिक मामिला तथा योजना, सहकारी मन्त्री समेत रहेका सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए ।
त्यस्तै बैठकले प्रदेश अन्तर्गतका कार्यालयहरुमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुको म्याद यही असोज मसान्तसम्म थप गर्ने निर्णय गरेको प्रवक्ता खड्काले बताए ।
बैठकले लुम्बिनी प्रदेशको शिक्षा सम्बन्धी प्रादेशिक नीतिको मस्यौदा तर्जुमा गरी पेश गर्न शिक्षा,विज्ञान,युवा तथा खेलकुद मन्त्रालयलाई र प्रदेशको कृषि विकास सम्बन्धी प्रादेशिक रणनीतिको मस्यौदा तर्जुमा गरी पेश गर्न कृषि,खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
त्यस्तै प्रादेशिक राजधानीको लागि पूर्वाधार निर्माण आवस्यक जग्गा प्राप्तिका लागि सम्बन्धित निकाय तथा सरोकारवालाहरुसँग समन्वय र सहजिकरण गर्न पर्यटन,ग्रामिण तथा शहरी विकास मन्त्रालयका सचिवको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठकले पाल्पाको बगनासकाली गाउपालिकाको केन्द्र परिवर्तन गर्ने प्रस्ताव नेपाल सरकार समक्ष पठाउने निर्णय गरेको छ भने बाँकेको बैजनाथ गाउपालिका,रुकुम पूर्वको भूमे गाउपालिका तथा पुथा उत्तरगंगा गाउपालिकाका वडाहरुलाई थपघट÷समायोजन गर्ने सम्बन्धी प्राप्त प्रस्ताव नेपाल सरकार समक्ष पठाउने निर्णय गरेको प्रवक्ता खड्काले जानकारी दिए ।








