बुटवल,१३ असोज ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ ।

बर्दिबासस्थित अख्तियार कार्यालयबाट गएको टोलीले आज मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागज पत्र नियन्त्रणमा लिएको हो ।

प्रदेश २ सरकारद्धारा सञ्चालित ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत बालिकाहरूलाई साइकल वितरणमा अनियमितता भएको आशंकामा अख्तियारले छापा मारेको जनाइएको छ ।

साइकल खरिदमा चरम अनियमितता भएको उजुरीको आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको अख्तियारले जनाएको छ ।

प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गर्ने क्रममा साइकल खरिदमा अनियमितताको उजुरी परेपछि छापा मारिएको अख्तियार दुरुपयोग अनुन्धान आयोगका सह प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

अख्तियारको केन्द्रीय कार्यालयको निर्देशनमा अख्तियारको बर्दिबास कार्यालयको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारी त्यहाँ रहेका कागजातहरु नियन्त्रणमा लिएको उनले बताए ।

प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो । सो अभियानमा अनियमितता भएको प्रारम्भिक छानविनबाट पत्ता लागेको अख्तियारले जनाएको छ ।