बुटवल,१३ असाेज । सत्तारूढ दल नेपाली काँग्रेस बुटवल उपमहानगर समितिले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई बुटवलका समस्या समाधान गर्न माग गर्दै सातबुँदे मागपत्र बुझाएको छ ।
मंगलबार नेपाली काँग्रेस बुटवल उपमहानगर समितिका नवनिर्वाचित सभापति खेलराज पाण्डेको नेतृत्वमा गएको टोलीले बुटवलमा रहेको समस्या समाधान गर्न मुख्यमन्त्री कुलप्रसाद केसीलाई सात बुँदे मागपत्र बुझाएको हो ।
गत भदौ १३ गते गएको पहिरोले बुटवल–३, ज्योतिनगरका दर्जनौं घर परिवार विस्थापित भएको स्मरण गराउँदै पहिरो पीडितलाई राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन रुपमा समस्या समाधन गर्न काँग्रेसले माग गरेको छ ।
यसैगरी भदौ ११ गतेको वर्षाले बुटवल–११, वुद्धनगरका आधा दर्जन बढी घर–परिवार घरबारविहीन बनेको भन्दै काँग्रेसले पिडितहरूलाई राहत तथा उचित व्यवस्थापन गर्न समेत मुख्यमन्त्रीकाे ध्यानाकर्षण गराएको छ ।
बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ६ लेन सडक विस्तार, कालिका पथ सडक विस्तार तथा बेलबास–बेथरी सडक विस्तारलाई समेत तीव्रता दिन माग गरिएको छ । बुटवलका सडक हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुँदा यात्रु तथा शहरवासीको स्वास्थ्यमा असर गर्नुका साथै दुर्घटनाको जोखिम भएको भन्दै काँग्रेसले प्रदेश सरकारकाे ध्यानाकर्षण गराएको छ ।
सो अवसरमा मुख्यमन्त्री केसीले तत्काल राहत तथा पुनःस्थापनका लागि जिल्ला प्रशासन कार्यालयलाई तथ्याङ्क संकलनका लागि निर्देशन दिएको बताउदै बुटवलको ज्योतिनगरको पहिरो तथा तिनाउ नदी कटान पीडितहरुका लागि प्रदेश सरकारले उद्धार, राहत तथा पुनःस्थापनाबारे ३ चरणका कार्ययोजना बनाउने तयारी गरेको जानकारी गराएका थिए ।
कार्यक्रममा कांग्रेसको तर्फबाट प्रदेश सरकारमा सहभागी पर्यटन,ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चाैधरी सहित,नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूकाे सहभागीता रहेको थियो ।








