काठमाडौं, १२ असोज । नेपालमा मंगलबार थप १ हजार १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३१८ जना काेराेना संक्रमित निको भएका छन् भने १२ जना कोराेना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ७ लाख ६३ हजार ७३४ जना काेराेना संक्रमित निकाे भएका छन् भने ११ हजार ११५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ जना रहेका छन् । जसमध्ये १७ हजार १२५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २९७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३६४ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

यस्तै १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज कुन जिल्लामा कति जनामा संक्रमण ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २७०, झापामा ७३, ललितपुरमा ६९, कास्कीमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भक्तपुर र रुपन्देहीमा ४४/४४ जना, सुनसरीमा ४३, मोरङमा ४२, चितवनमा ४०, सुर्खेतमा १५, धनुषा र काभ्रेपलाञ्चोकमा १२/१२ जना, पाल्लामा ११ र तनहुँमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।