बुटवल,१२ असोज ।
पटकपटक स्थगित हुदै आएको लुम्बिनी प्रदेश सभाको बैठक फेरि स्थगित भएको छ ।
भाेली असोज १३ गते बुधबार दिउँसो १ बजेका लागि बाेलाइएकाे प्रदेश सभाको नवौं अधिवेशनको छैठौं बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभाको अर्को बैठक यही असाेज २० गते बुधबार दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यहरूलाई बैठक स्थगित भएको जानकारी गराए पनि यो समाचार तयार पार्दासम्म बैठक स्थगित भएको सूचना भने जारी गरिसकेको छैन ।
यसअघि असोज ७ गतेका लागि बाेलाइएकाे प्रदेश सभाको बैठक सूचना टासेर असाेज १३ गते सम्मकालागि स्थगित भएको थियो ।
भदौ ३१ गते बसेको प्रदेश सभाको बैठक एमालेको अबरोध गरेपछि असोज ७ गते सम्मका लागि स्थगित भएको थियो ।
बैठक स्थगित हुनाकाे कारण उल्लेख नगरे पनि यही असाेज १४ गतेदेखि शुरू हुने विधान अधिवेशनलाई मध्येनजर गरि सारिएको बताइएको छ ।
नेकपा एमालेले कारबाही गरेका प्रदेश सभा सदस्य अजय शाही र बिमला कुमारी खत्री वलीलाई पदमुक्त गरेको सदनलाई जानकारी गराउन माग गर्दै एमालेले प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठकदेखिनै बैठक अवरुद्ध गर्दै आएको छ ।
पार्टीले कारबाही गरेका दुई जना प्रदेश सभा सदस्यलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने एमालेको अडान छ ।
एमालेले पटक पटक प्रदेश सभा बैठक अवरुद्ध गरेपछि सभामुख पुर्णबहादुर घर्तीले दुई जना प्रदेश सभा सदस्यको मुद्धा सर्वोच्च अदालतमा बिचाराधीन रहेको र अदालतमा बिचाराधीन मुद्दाको बिषयमा सदनमा कुरा उठाउन नमिल्ने भन्दै प्रदेश सभा सदस्यहरूलाई सचेत गराएका थिए ।
उनले प्रचलीत कानून, संसदीय अभ्यास तथा प्रदेश सभा नियमावलीमा रहेर आफ्ना गतिबिधि अगाडी बढाउन समेत प्रदेश सभा सदस्यहरुलाई आग्रह गरेका थिए ।







