बुटवल,४ असोज ।
लुम्बिनी प्रदेश सरकारले राजधानी काठमाण्डौ बाहिर नेपालमै पहिलो पटक स्मार्ट सवारी चालक अनुमति पत्र बितरण सुरु गरेको छ ।

बुटवल स्थित यातायात व्यवस्था कार्यालयमा सोमबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले परीक्षणकालिन सवारी चालक अनुमति पत्र बितरण कार्यको सुरुवात गरेका हुन् ।

कार्यक्रमको सुभारम्भ गर्दै मुख्यमन्त्री केसीले नवगठीत प्रदेश सरकारले सुरुवात गरेको यो पहिलो महत्वपूर्ण कार्य भएको बताए ।

सवारी चालक अनुमति पत्र प्राप्त गर्न प्रदेशका जनताले भोग्नुपरेको समस्यालाई मध्यनजर गरी संघीय सरकारसँगको समन्वयमा प्रदेश सरकारले परीक्षणकालिन रुपमा सवारी चालक अनुमति पत्र बितरण कार्यको सुरुवात गरेको बताउदै मुख्यमन्त्री केसीले एक बर्ष भित्रमा सवारी चालक अनुमति पत्रका लागि आवेदन दिएका सबैले सहज रुपमा सेवा प्राप्त गर्ने व्यवस्था मिलाइने प्रतिवद्धता व्यक्त गरे ।

हाल नेपालबाट लिएको सवारी चालक अनुमति पत्रको आधारमा अन्य मुलुकमा सवारी साधन चलाउन नपाइने अवस्था रहेको भन्दै मुख्यमन्त्री केसीले यस प्रदेशबाट लिएको सवारी चालक अनुमति पत्रको आधारमा विश्वका जुनसुकै देशमा पनि रोजगारी प्राप्त गर्नसक्ने व्यवस्था गर्न पहल गर्ने बताए ।

‘सम्बृद्ध लुम्बिनी, आत्मनिर्भर लुम्विनी’ बनाउने संकल्पका साथ प्रदेश सरकार अगाडी बढेको भन्दै उनले प्रदेशका जनतालाई संघीयताको अनुभुत हुनेगरी सहज रुपमा सेवा प्रवाह गर्ने कार्यमा कुनै कसर बाँकी नराख्ने बताए ।

कार्यक्रममा प्रदेशका श्रम,रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेँगा मगरले जनतालाई छिटो छरितो र सहज रुपमा लाइसेन्स उपलब्ध गराउन हाललाई परीक्षणकालिन रुपमा स्मार्ट लाइसेन्स बितरण गर्ने कार्यको सुरुवात गरिएको भन्दै निकट भविस्यमा प्रदेशबाट स्थायी रुपमा स्मार्ट लाइसेन्स बितरण गर्ने व्यवस्था मिलाइने बताइन् ।

लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालले राजश्व अशुलीमा महत्वपूर्ण योगदान रहेको यातायात क्षेत्रप्रति राज्यको ध्यान जान नसकेको भन्दै सेवा केन्द्र बिस्तार गरेर भए पनि सवारी चालक अनुमति पत्र सहज रुपमा प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिब डिल्लीराम शर्माले जनताले संघीयता आएको महसुस गर्नेगरी सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रका कार्यालय प्रमुख तेज नारायण यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखा अधिकृतद्धय श्यामकुमार पौडेल र प्रदीप खनालले कार्यालयको सेवा प्रवाहबारे जानकारी गराएका थिए ।