लुम्बिनी,२ असाेज ।
लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल बहादुर के.सी.‘सोनाम’ ले लुम्बिनी क्षेत्रको समग्र विकासको नेतृत्व लुम्बिनी प्रदेश सरकारले गर्ने बताएका छन् ।
लुम्बिनीको विकासको लागि लुम्बिनी विकास कोषले थप कार्ययोजना अगाडि बढाउने र प्रदेश सरकारले पनि लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्रामकाे समग्र विकास कार्यलाई अगाडि बढाउने बताउँदै मुख्यमन्त्री के.सीले बुद्धदर्शन तथा यसको विकास नेपालमा हुनु नै नेपाल र नेपालीका लागि गौरव गर्ने विषय भएको बताए ।
लुम्बिनी स्थित मायादेवी मन्दिर खुला भएसँगै त्यस क्षेत्रकाे अवलोकनका लागि शनिबार लुम्बिनी पुगेका मुख्यमन्त्री के.सी.ले उक्त कुरा बताएका हुन् ।
महामानव गौतम बुद्ध एक महान दार्शनिक हुनुको साथै बुद्धको शिक्षा जीवनाेपयोगी रहेकाे बताउदै मुख्यमन्त्री के.सी.ले प्रदेश सरकारले लुम्बिनीको समग्र विकासको लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्वता जनाए ।
कार्यक्रममा प्रदेशका पर्यटन, सहरी तथा ग्रामीण बिकास मन्त्री डिल्ली बहादुर चौधरीले गौतमबुद्धको अहिंसावादी सिद्धान्त सबैले पालना गर्नुपर्ने बताउँदै लुम्बिनीको समग्र विकासका लागि आफूहरु प्रतिबद्ध रहेको बताए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवदेश कुमार त्रिपाठीले लुम्बिनी क्षेत्रको विकासमा लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र तिलौराकोट, रामग्राम, देवदहलगायतको वृहत्तर गुरुयोजना अनुसार विकास गर्न याेजनावद्व रूपमा अगाडि बढ्ने बताए ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरुद्धिन खाँनले लुम्बिनीको पर्यटन विकासको लागि सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको र गुरुयोजना चाडै पूरा गर्नु पर्नेमा जोड दिए ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा शाक्यले कोरोना भाइरस कोभिड–१९ का कारण लुम्बिनीको गुरुयोजना पूरा गर्नमा केही ढिलाई भएको बताउँदै गुरुयोजना सम्पन्न गर्न आफूहरु लागि परेको बताए ।
कोषका कोषाध्यक्ष सुरेन्द्र मुनी शाक्यले कार्यक्रममा स्वागत मन्तव्य राख्दै लुम्बिनीको समग्र विकासका लागि आफूहरुले दिनरात काम गरिरहेको उल्लेख गरे ।
कार्यक्रममा काेषका इन्जिनियर सरोज भट्टराईले बृहत लुम्बिनी गुरुयोजना बारे जानकारी गराएका थिए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकका मेयर मनमोहन चौधरी लगायत विशिष्ट व्यक्तित्वहरुको उलेख्य सहभागिता रहेको थियो । साे अवसरमा मुख्यमन्त्री के.सी.ले थाइ मन्दिर, मायादेवी मन्दिर पुगेर दर्शन पूजा, वृक्षरोपण गर्नुका साथै मायादेवी मन्दिरको बारेमा जानकारी लिएको लुम्बिनी विकाष कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले जानकारी दिए ।






