रकम जटाउन महायज्ञ गर्दै विद्यालय
बुटवल,२ असोज ।
विद्यालय भवन पुननिर्माण गर्न रकम जुटाउन रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १४ रेहरामा रहेको सरस्वती आधारभूत विद्यालयले महायज्ञ गर्ने भएको छ ।

२०७२ सालमा गएको बिनासकारी भुकम्पले चर्किएको विद्यालय भवन पुननिर्माणका लागि तिनै तहका सरकारबाट सहयोग नभएपछि रकम जुटाउन विद्यालयले महायज्ञ गर्न लागेको हो ।
महायज्ञको तयारी स्वरुप विद्यालयले शुक्रबार ध्वजारोहण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष काशिराम सुवेदीको सभापतित्व र स्थानीय समाजसेवी कृष्ण प्रसाद पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न ध्वजारोहण कार्यक्रममा विद्यालयका सल्लाहकार समिति संयोजक हरीराम केवट,स्थानीय समयमाई टोल विकास संस्थाका अध्यक्ष मोहनदत्त सुवेदी लगायतले महायज्ञ गर्नुपर्नाको कारण र विद्यालयको अवस्थाका बारेमा आ आफ्नो भनाई राखेका थिए ।
२०३४ सालमा स्थापना भएको सो विद्यालयमा कक्षा ८ सम्म पढाई हुँदै आएको छ । कक्षा कोठा पुराना र जिर्ण बन्दै गएका छन । ३ महिना अघि विद्यालयको भवन भत्किदा २ जना विद्यार्थी घाईतेसमेत भएका थिए ।
सामुदायिक विद्यालयले भवन निर्माण गर्नको लागि दाताहरु कै भर पर्नुपर्ने अवस्था रहेको प्रधानाध्यापक कमला शर्मा गौतमले बताइन् ।
विद्यालयले भवन निर्माणका लागि यस अघि पनि महायज्ञको आयोजना गर्दै आएको र त्यसबाट उठेको रकमबाट भवन निर्माण गरेको उनले जानकारी दिइन ।
भवन निर्माणको लागि सरकारी निकायबाट कुनै सहयोग नआएपछि फेरि भवन निर्माण र स्कूल बस तथा एम्बुलेन्स सञ्चालनको लागि महायज्ञको आयोजना गर्न विद्यालय बाध्य भएको उनको गुनासो छ ।
मधेशी समुदायको बाहुल्यता रहेको सो विद्यालयमा तिनै तहका सरकारबाट कुनै सहयोग नहुनु दुखद भएको महायंज्ञ मुल आयोजक समिति संयोजक सञ्जु थापाले बताइन् ।
जनताको नजिकको सरकार स्थानीय सरकार तिलोत्तमा नगरपालिकाबाट पनि सहयोग नपाएकोमा स्थानीय रुष्ट भएका छन् ।
सामुदायिक विद्यालयलाई एकातिर निजी विद्यालयहरुसँग प्रतिस्प्रिर्धा गर्नु पर्ने बाध्यता छ, भने भएका विद्यार्थीलाई कक्षा कोठा अपुग हुँदा पठनपाठनमा समस्या हुने गरेको छ । सरकारले बजेट मार्फत ठुलो हिस्सा शिक्षा क्षेत्रलाई छुट्टाएपनि अझैं सामुदायिक विद्यालयले भवन निर्माणको लागि दाताहरुकै भर पर्नु पर्ने बाध्यता रहेको छ ।
भुकम्पले चर्किएको विद्यालय भवन समयमै मर्मत सम्भार गर्न नसक्दा तीन महिना अघि भवनका केही कोठा भत्किएका छन भने केही कोठाहरु अझै जिर्ण अवस्थामा भवन निर्माणको लागि जुटेको स्थानीय बताउँछन ।
सरकारले शिक्षा क्षेत्रमा ठुलो लगानी गरेको छ । तर सुगम जिल्ला रुपन्देही तथा उत्कृष्ट नगरपालिकाको रुपमा चिनिएको तिलोत्तमा नगरपालिकाकै सामुदायिक विद्यालयका भवनहरु जिर्णोद्धार गर्ने रकम जुटाउन महायज्ञको आयोजना गर्नुपर्ने अवस्था रहेको छ ।
कोरोना संक्रमणको जोखिम कम भएसँगै रुपन्देहीका विद्यालयहरुमा पठन पाठन सुरु गर्ने तयारी भैरहेका बेला सो विद्यालयलाई भने विद्यार्थीलाई कसरी पढाउने भन्ने पिरलो छ । २५० विद्यार्थी रहेको सो विद्यालयमा भवनको अभावका कारण बहुकक्षा र २ सिफ्टमा कक्षा सञ्चालन गर्ने विद्यालयको तयारी छ ।






