बुटवल,३० भदौ । लुम्बिनी प्रदेश सभामा गठित प्रदेश मामिला तथा कानुन समितिले बाढी पहिरो लगायतका दैवीप्रकोप पिडितहरूलाई छिटोछरितो किसिमबाट राहत तथा पुनःस्थापनाकाे काम गर्ने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले बुधबार प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्रालयका सचिव रविलाल पन्थलाई समितिमा बाेलाएर उक्त निर्देशन दिएको हो ।
बाढी पहिरो लगायतका दैवीप्रकोप पिडितहरूले अझै पनि सहजरूपमा छिटोछरितो तरिकाले राहत पाउन नसकेको र पुनःस्थापनाकाे काममा समेत ढिलासुस्ती हुने गरेको भन्दै समितिले दैवीप्रकोप पिडितहरूलाई तात्कालिक र दिर्घकालिन गरि छिटोछरितो किसिमबाट राहत उपलब्ध गराउनुका साथै पुनःस्थापनाकाे काम गर्ने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति दामा शर्माले जानकारी दिइन् ।
बैठकमा मन्त्रालयका सचिव पन्थले चालू आर्थिक बर्षकाे यश अवधिसम्म प्रदेशमा घटेका विपदका घटनामा र त्यसबाट भएको क्षति र उद्वार,राहत र पुनःस्थापना कार्य बारे जानकारी गराएका थिए ।
समितिका सभापति शर्माको सभापतित्वमा बसेकाे बैठकमा समितिका सदस्य तथा पुर्व मन्त्री भाेज प्रसाद श्रेष्ठ,समिति सदस्य भुवनेश्वर चाैधरी,रमा अर्याल,इन्द्रजित थारू लगायतले दैवीप्रकोप पिडितहरूले समयमै राहत नपाउने र पुनःस्थापनाकाे काममा समेत ढिलासुस्ती हुने परिपाटीको अन्त्य गरेर सहजरूपमा तत्काल राहत उपलब्ध गराउने व्यवस्था मिलाउनुप र्नेमा जाेड दिएका थिए ।
पछिल्लो समय गएको बाढी पहिरोबाट प्रदेशमा भएको जनधनको क्षति तथा पिडितहरूकाे उद्वार,राहत र पुनःस्थापनाकाे अवस्थाकाे बारेमा जानकारी लिन समितिले बुधबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिवलाई छलफलमा बाेलाएकाे हो ।






