बुटवल,३ जेठ ।
बुटवलमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले शक्ति प्रदर्शन गरेका छन् ।

जेठको चर्को घामकाे प्रवाह नगरी भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आइतबार बुटवलमा विशाल प्रदर्शन गरेका हुन् । विभिन्न जिल्लाबाट आएका सहभागीहरूले “पहिला बसोबासको सुनिश्चितता,अनि मात्रै व्यवस्थापन” भन्दै सरकार बिरूद्व चर्का नाराबाजी गरेका थिए ।

नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समितिको अगुवाइमा बुटवलको राजमार्ग चौराहाबाट सुरु भएकाे जुलुस फाइनान्स चाेक,मिलन चाेक,बसपार्क,अस्पताललाईन हुँदै ट्राफिक चाेकमा पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरूले आफूहरू वर्षौंदेखि बसोबास गर्दै आएको ठाउँबाट कुनै वैकल्पिक व्यवस्था नगरी हटाउन खोजिएको भन्दै सरकारको कदमको विरोध गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले घरबार विहीन बनाउन खोजिएको आरोप लगाउँदै “गरिबमाथि अन्याय बन्द गर”, “पहिला पुनःस्थापना, अनि मात्रै हटाउने कुरा” लगायतका नारासमेत लगाएका थिए । प्रदर्शनका कारण बुटवलका केही क्षेत्रकाे सवारी आवागमन प्रभावित भएको थियो । प्रदर्शनलाई मध्यनजर गरि बुटवलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

आयोजक समितिका अनुसार देशका विभिन्न जिल्लाबाट हजारौं भूमिहीन तथा अव्यवस्थित बसोबासी बुटवल आएका छन् । उनीहरूले पछिल्ला दिनहरूमा विभिन्न स्थानमा भएको डोजर आतंक गरिब परिवार त्रसित बनेको भन्दै डोजर आतंक बन्द गर्न माग गरेका छन् ।

संघर्ष समितिका प्रतिनिधिहरूले सरकारले सार्वजनिक जग्गा संरक्षणको नाममा वास्तविक गरिब नागरिकमाथि दबाब सिर्जना गरेको आरोप लगाए । उनीहरूले दीर्घकालीन समाधानका लागि राज्यले स्पष्ट नीति ल्याउनुपर्ने मागसमेत गरेका छन् ।

प्रदर्शनपछि आयोजित सभामा विभिन्न प्रदेशबाट आएका प्रतिनिधिहरूले भूमिहीन नागरिकको समस्या राष्ट्रिय मुद्दा बनेको भन्दै अब संगठित रूपमा आन्दोलन अघि बढाउने नेकपा ( माओवादी ) रुपन्देही जिल्ला सेक्रेटरी बिरेन्द्र बि के ले बताएका छन् । भूमि समस्या समाधान नभएसम्म आन्दोलन नरोकिने सुकुम्बासी आन्दोलनका अगुवा बिरेन्द्र बि के ले बताए ।

कार्यक्रममा अधिकारकर्मी तथा अधिवक्ता लिजा राई,संघर्ष समितिका सल्लाहकार बिरेन्द्र बिके,सुकुम्बासी अगुवा नरेन्द्र दर्जीलगायतले डाेजर आतंक तत्काल बन्द गर्न माग गर्दै त्यसाे नगरे सरकारकाे दिनगन्ति सुरु हुने चेतावनी दिए ।

बुटवलमै हुने राष्ट्रिय भेलामा विज्ञ,सरोकारवाला तथा विभिन्न प्रदेशका प्रतिनिधिबीच छलफल गरी आगामी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने संघर्ष समितिका संयोजक खड्क बहादुर पाैडेलले जानकारी दिए ।

आन्दोलनलाई केही राजनीतिक दल तथा स्थानीय संघसंस्थाले पनि समर्थन जनाएका छन् ।