बुटवल,२९ भदौ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धि किटानी जाहेरी परेको छ ।
नेकपा माओवादी केन्द्रकि प्रदेश सभा सदस्य विमला कुमारी खत्रीले उनिहरू बिरूद्व किटानी जाहेरी दिएकी हुन् ।
पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर साउन १५ गतेदेखि ५ दिनसम्म आफुलाई बन्धक बनाएको भन्दै प्रदेश सभा सदस्य वलीले अपहरण तथा शरीर बन्धकसम्बन्धि कसुरमा सोमबार किटानी जाहेरी दिएकी हुन् ।
जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका किरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई अपहरण तथा शरीर बन्धकसम्बन्धि कसुरमा हदैसम्मको सजायको माग गरिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता सत्यनारायण थापाले वलीले बुटवलमा किटानी जाहेरीका लागि पत्र बुझाएको पुष्टि गरेका छन् । उनले जाहेरी दाङमा दर्ता गराउन सुझाव दिएको बताए ।
वली र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएको र उनले घटनाको शुरुवात भएको स्थान दाङमै उजुरी दर्ता गर्ने प्रतिवद्धतासहितको पत्र दिएकाे बताइएको छ ।
उक्त मुद्दामा अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था मुलुकी अपराध संहिता २०७४ले व्यवस्था रहेको छ ।





