-पुष्पा बसेल

जब पहिलो रजस्वला भएको दिन आमा राेइन् । १४ वर्षकै उमेरमा आमाका आमा र परिवारले अब आमा हुनुपर्छ भनेर विवाह गरेर पठाइदिए त्याे दिन आमा राेइन् ।

जब विवाहपछि पनि धेरै वर्ष आमा आमा हुन सकिनन् । आमाकी सासू आमाका तिखा वचन र कचकचले आमा राेइन् ।

अनि..मेरी आमा आमा नहुँदासम्म पनि आमा बुवाकाे याद, माइतीघर र मामाका सम्झना यता एकछाक खान र एक सराे लगाउन दु:खले राेइन् बुढाकाे पिटाइ सासूआमाकाे कचकच र समाजकाे हेपाइले राेइन् ।

एक्कासि आमा गर्भवती भएकाे दिन मेरी आमा झन् बेस्सरी राेइन् ।

यस्ता हजाराैं पटक पटक-पटक आमा राेइरहिन् आमाका आँखाहरू भिजिरहे…।
र,

एउटी छाेरी म जन्मे

अनि मेरी आमा, आमा भइन् ।

तै पनि उनका आँखा भिज्न छाडेनन् उनी रून छाडिनन् ।

म जन्मेकाे दिन त आमा झन् धेरै राेइन् । अलिकति बच्चा जन्मँदाकाे पीडाले राेइन् त्यही माथि छाेरी जन्माएकाे चिन्तनले राेइन् । आफू पहिलाे पटक आमा भएकाे खुसीले झन् मज्जाले राेइन् ।

अझै,

कतिबेला मलाई दूध चुसाउन नपाएर त कतिबेला दूध चुसाउन पाएर राेइन्, कहिले म भाेकै हुँदा त कहिले आफू भाेकै भएर राेइन् । म बिरामी हुँदा, अनि उनी नसक्ने हुँदा राेइन् । जीवनमा पहिलाे दिन मलाई स्कुल भर्ना गर्दा राेइन् । मैले पहिलाे पटक आमाकाे नाम लेख्न जानेकाे दिन राेइन् बस् आमा राेइरहिन् ।

मैले क्लासमा राम्राे नम्बर ल्याएर पास हुँदा राेइन् कति पटक मलाई खुसी किन्न राेइन् त कति पटक आफ्नाे खुसी त्यागेर राेइन् । यसरी मलाई महान र ठूली बनाउन आमा राेइरहिन् बस् राेइरहिन् ।

अचेल आमा, आफ्नाे दमकाे राेगले रून्छिन् । आफ्नाे दुखाइले रून्छिन् । समयमा दवाइ नपाउँदा रून्छिन् । समयमा दवाइ पाउँदा पनि रून्छिन्। आफ्नाे बुढ्याउलीले रून्छिन् । देशकाे हालत देखेर रून्छिन् ।

७ वर्षकी नाबालिका बलात्कार भएकाे सुनेर रून्छिन्। म स्कुलबाट घर ढिला पुग्दा रून्छिन् । अझ भनूँ सबभन्दा धेरै त याे कुराले रून्छिन् । आफ्नी आमाले जस्तै मलाई पनि आमा बनाउन विवाह गरेर पराइघर पठाउने कुराले रून्छिन् ।

स्वयम् आमालाई थाहा छैन । आमाकी आमालाई पनि थाहा छैन । आमा जीवनमा कति पटक खुसी र कति पटक दु:खले राेइन् हाेला ।

मसँग त यसकाे उत्तर छैन। बरु उल्टै अर्को एउटा प्रश्न छ आमा ।

आमा एउटी आमा हुन जन्मदेखि मृत्युसम्म रून पर्छ भने म किन आमा हुने ?

आमा म आमा नभए हुन्न ?

साहित्यपाटीबाट