क्षमा पूजा गरेर मन्दिर खुलाइयो

काठमाण्डाै,२५ भदौ ।
पशुपतिनाथको मन्दिर आजदेखि खुला गरिएको छ ।
कोरोना भाइरस संक्रमणकाे जाेखिमका कारण साढे ४ महिनादेखि बन्द गरिएको पशुपतिनाथको मन्दिर आज बिहान क्षमा पूजा गरेपछि सर्वसाधारणका लागि खुला गरिएको हो ।

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र भएपछि गएको बैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।
कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो एक बजेसम्ममात्र खुला गरिने पशुपति क्षेत्रविकास कोषले जनाएको छ ।
पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ । मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ ।
कोषले एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था मिलाएको छ ।

विशेष पूजा भने आजदेखि नै खुला नगरिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । साढे चार महिनापछि खुलेको मन्दिरमा भक्तजनलाई सहज तरिकाले दर्शन गराउन आवश्यक सबै तयारी गरिएको कोषले जनाएको छ ।

विसं २०७६ चैत महिनामा नेपालमा पहिलोपटक कोरोना महामारी सुरु हुँदा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । विसं २०७६ साल चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खुला गरिएको थियो । विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र शुरु गरिएको थियो । महाशिवरात्रिका अवसरमा गएको वर्ष फागुन २७ गतेदेखि मात्र साविकबमोजिम नै पूरा समय पशुपतिनाथ मन्दिर खुला गरिएको थियो । यसपटक पनि कोरोना जोखिमको मात्रा हेरेर विशेष पूजा, साविकबमोजिम नै मन्दिर खुलालगायत निर्णय गरिने कोषले जनाएको छ ।