पाल्पा,१५ भदौ ।
पाल्पामा आज ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्वको भगवती जात्रा मनाइएको छ ।

जितगढी युद्धको सम्झनामा मनाइदै आएको रणउजिरेश्वरी भगवती जात्रा क्षमा पुँजा गरेर मनाइएको हो ।

आज मनाइएको यो जात्रा २०३ औँ संस्करणको हो ।

कोरोना भाइरसको संक्रमणको जोखिमका कारण विगतका वर्षहरुमा जस्तो भव्य रुपमा नभई परम्परा र संस्कृति जोगाउनका लागि मात्रै आज यो जात्रा निकालिएको बताइएको छ ।

नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा पाल्पामा विजयोत्सवस्वरुप भगवती जात्रा निकाल्ने गरिन्छ । नेपालमा मनाइने पुराना जात्राहरुमध्ये यो पनि एक हो ।

आज दिउँसो निजामती कर्मचारी, सुरक्षाकर्मी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु, पत्रकारलगायत सीमित व्यक्तिको उपस्थितिमा रथयात्रा निकालएको छ । यस पटक यो यात्रा मन्दिर परिषरमा मात्र सीमित रहेको पनि आयोजकहरुले जनाएका छन् । आज दिउँसो १२ः३० बजेको साइतमा भगवतीको रथ उठाइएको थियो । वीरताको प्रतीकका रुपमा रहेको रणउजिरेश्वरी भगवतीको रथयात्रा गत वर्ष पनि कोरोना महामारीले सामान्य रुपमा नै मनाइएको थियो ।

कोभिडको महामारी कायमै रहेकाले स्वास्थ्य सुरक्षा अपनाएर परम्परा र संस्कृति धान्नका निम्ति औचापरिकतामा मात्रै जात्रा मनाइएको रणउजिरेश्वरी भगवती गुठी सञ्चालक समितिका अध्यक्ष राजेश्वर उदयले बताए ।

उनका अनुसार जात्राको पूर्वसन्ध्यामा सोमबार साँझ ८ बजेबाट जात्रासम्बन्धी अनुष्ठान सुरु भएको र मंलबार बिहान ११ः३० बजेसम्म मात्र भक्तजनलाई मन्दिरमा भगवतीको दर्शन गर्ने व्यवस्था मिलाइएको थियो ।

पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले विसं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतका क्षेत्रमा विजय हासिल गरेको सम्झनामा विसं १८७७ देखि निरन्तर रुपमा विजयोत्सव भगवती जात्रा मनाइँदै आइएको छ ।

घरेलु हातहतियार, सैनिक अवस्था कमजोर भएको अवस्थामा बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर सिहं थापाले बुटवल क्षेत्रको युद्धमा जानुअघि तानसेनको मध्य भागमा अवस्थित भगवती देवीको शिला छोएर युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दूर जात्रा गर्नेछु र भगवतीको महिमा चारैतर्फ फैलाउनेछु भनी भाकल गरेका थिए ।

दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल उजिर सिंह थापाले विसं १८७२ देखि ७६ सम्म गजूरसहितको तीनतले मन्दिर निर्माण गरी विसं १९७७ देखि विजयोत्सवका रुपमा प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन भगवती जात्रा निकालिँदै आएको छ ।
अंग्रेजलाई युद्धमा हराएकाले विजय जात्राका रुपमा सञ्चालन हुँदै आएको मन्दिरको नामसमेत रणउजिरेश्वरीबाट परिचित छ ।

विद्यालय एवम् विभिन्न संघसंस्थाको उपस्थितिमा निकालिने भगवती जात्रा (रथयात्रा) लाई भजनकीर्तन, पञ्चेबाजा, लाखेनाच, विभिन्न सांस्कृतिक झाँकीसहित तानसेन नगर परिक्रमा गराएर पुनः भगवतीको मन्दिरमा लगेर विसर्जन गर्ने चलन रहेको छ तर अहिले कोरोना महामारीका कारण गत बर्षदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर औपचारिकता दिनका लागि मात्रै मनाइएको छ ।

विजयोत्सव जात्रा हेर्नका लागि गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, चितवन, स्याङ्जा, कास्कीलगायत विभिन्न क्षेत्रबाट दर्शकहरु ठूलो सङ्ख्यामा पाल्पा आउने गर्थे । घरबाहिर रहेका पाल्पालीहरु पनि भगवती जात्राको दिन अनिवार्य रुपमा तानसेन आउने गर्दथे ।

भगवती जात्राका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज जिल्लाभित्र सार्वजनिक बिदा दिएको छ । भगवती जात्राको ऐतिहासिक र विशेष महत्व रहेको भन्दै प्रदेश सरकारले पाल्पामा जात्राको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।