पाल्पा,१५ भदौ । पाल्पाकाे तानसेनमा आज ऐतिहासिक तथा धार्मिक महत्त्वकाे भगवती जात्रा मनाइदै छ ।
जितगढी युद्ध युद्धमा अंग्रेज फाैजलाई परास्त गर्न सफल भएको सम्झनामा रणउजिरेश्वरी भगवती देवीको रथायात्रा निकालिंदै आएको हो ।

पाल्पाको भगवती जात्राले नेपाल-अंग्रेजबीच भएको जितगढी युद्धलाई सम्झाउने गर्छ । वि. सं. १८७१/७२ तिर जितगढीमा भएको युद्धमा तत्कालीन कर्णेल उजीर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अंग्रेज फौजलाई परास्त गरेको थियो । भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारको नेतृत्व गरेको अंग्रेज फौजलाई परास्त गरेको सम्झनामा यो जात्रा निकाल्ने चलन छ ।

जितगढी युद्धमा विजय प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजीर सिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए। वि.सं. १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो।

तानसेन भगवती टोलस्थित श्री ७ रणउजीरेश्वरी भगवतीको आज २०३ औं संस्करणको रुपमा भगवतीको सिन्दुर जात्रा एवं विजयोत्सव निकालिने भएको हो । तर कोरोना महामारीका कारण यो वर्ष जात्रा भव्य नहुने भएको छ । कोरोनाको जोखिम रहेकाले सीमित व्यक्तिको उपस्तिथिमा मन्दिर परिसरमै रथयात्रा निकाल्ने तयारी भइरहेको छ । निजामती कर्मचारी, सुरक्षाकर्मी, मन्दिर व्यवस्थापन समिति र पत्रकारको सहभागिता रहने छ। सर्वसाधारण सहभागी हुने छैनन् ।

मंगलबार दिउँसो साढे १२ देखि १ बजेभित्र भगवतीको रथ उठाउने साइत जुरेको भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिए । नेपाली सेनाले सलामी चढाए लगत्तै स्वस्ती वाचन गरेर रथयात्राको प्रारम्भ हुनेछ । तीनपटक मन्दिर घुमाएपछि प्रमुख जिल्ला अधिकारीले भगवती देवीको पूजा गर्ने प्रचलन रहेको छ । त्यसपछि नेपाली सेनाका जिल्ला प्रमुखले गर्नेछन् । जिल्ला समन्वय समिति र तानसेन नगरपालिकाले पूजा गरेपछि पुनः रथलाई तीनपटक मन्दिर घुमाएर रथयात्रा विसर्जन हुने छ ।