बुटवल,७ भदौ ।
नेकपा एमालेले कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई मान्यता नदिने जनाएकोे छ ।

मुख्यमन्त्री केसीले प्रदेश सभाबाट विश्वासको मत लिएपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले केसी नेतृत्वको प्रदेश सरकार अवैधानिक भएको दाबी गर्दै त्यसलाई आफुहरुले मान्यता नदिने बताएका हुन् ।

प्रदेश सभा सचिवालयले २४ घण्टा अगावै कार्यसूची सार्वजनिक गर्नुपर्नेमा त्यसो नगरी एक्कासी मुख्यमन्त्रीले विश्वासको मत लिनु आपत्तिजनक भएको प्रमुख सचेतक ढकालले बताए ।
मुख्यमन्त्री कुलप्रसाद केसीले पाएको विश्वासको मतलाई एमालेले वैधानिकता नदिने र विरोध जारी रहने ढकालको भनाई छ ।

प्रदेश सभा सदस्य अजय शाही र विमला वली खत्रीलाई पदमुक्त नगर्दासम्म प्रदेश सभा वैठक कहिस्कार गर्ने आफ्नो पार्टीको बटमलाइन यथावत रहेको भन्दै उनले अब बोलाइएको भदौ १७ गतेको बैठक पनि चल्न नदिने चेतावनी दिए ।

सोमबार विपक्षी एमालेको बहिस्कारका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका थिए । ८० सदस्यीय प्रदेश सभामा सभामुखवाहेक ४३ सांसद उपस्थित भएकामा मुख्यमन्त्री केसीले ४२ मत पाएका थिए । उपसभामुख कृष्णी थारु तटस्थ बसेकी थिइन् ।

सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले भने विपक्षी एमालेले अर्को दलका सांसदलाई कारवाही गर्नुपर्ने नाजायज माग राखेर गैर संसदीय र अलोकतान्त्रिक व्यवहार प्रदर्शन गरेको प्रतिक्रिया दिए ।

विपक्षी दलका जायज मागको आफूहरुले सधैं सम्मान गर्ने बताउदै प्रमुख सचेतक घर्तीले अरु दलका प्रदेश सभा सदस्यलाई पदमुक्त गर्न माग राखेर विपक्षीले सदन अवरुद्ध गर्नु आपत्तिजनक भएको टिप्पणी गरे ।

‘अल्पमतमा परेर सत्ता पक्षबाट विपक्षी कुर्सीमा जाँदाबित्तिकै संसदबाट भाग्नु लोकतान्त्रिक चरित्र होइन’ घर्तीले भने, ‘अर्को दलका सांसदलाई आफ्नो दलको भनेर आन्दोलन गर्नु आफैंमा हास्यास्पद छ ।’