बुटवल, २६ साउन ।
रुपन्देही व्यापार संघको लगानी तथा लुम्बिनी प्रादेशिक अस्पतालको प्राविधिक एवं भौतिक व्यवस्थानमा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तसंञ्चार सेवा केन्द्र (ब्लड बैंक) स्थापना हुने भएको छ ।
ब्लड बैंक स्थापनाका लागि मंगलवार लुम्बिनी प्रादेशिक अस्पताल र रुपन्देही व्यापार संघवीच संस्थागत रुपमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा लुम्बिनी प्रादेशिक अस्पतालकातर्फबाट अध्यक्ष सुर्य बहादुर भट्टराई, सदस्य रिज्जु श्रेष्ठ र मेसु डा. राजेन्द्र खनाल तथा रुपन्देही ब्यापार संघकातर्फबाट अध्यक्ष यमलाल लोहनी, महासचिव दयानीध भण्डारी र कोषाध्यक्ष दिपक अधिकारीले हस्ताक्षर गरेका छन् ।
अस्पतालको हाताभित्र स्थापना हुने ब्लड बैंकका लागि भौतीक संरचना अस्पतालले बनाउने र त्यसलाई आबश्यक पर्ने उपकरण रुपन्देही ब्यापार संघले उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ ।
ब्लड बैक सञ्चालनका लागी ७ सदस्यि सञ्चालक समिति गठन गर्ने जसमा रुन्देही व्यापार संघकातर्फबाट ३, अस्पताल विकास समितिबाट २, स्थानिय सरकार बुटवल उपमहानगरपालिकाबाट १ र जिल्ला प्रशासनबाट एक जनाको प्रतिनिधित्व रहने छ । यसैगरि अस्पताल प्रशासन र लेखा शाखाबाट १–१ जना अनिर्वाय आमन्त्रित सदस्य राख्ने व्यवस्था गरिएको छ ।
सो परियोजनाबाट आर्जन हुने आय सोही परियोजना सञ्चालन, मर्मत संहार र विकासका लागि खर्च गरिने जनाइएको छ ।
ब्लड बैंकमा अत्याधुनिक प्रविधिको प्रयोग र व्यवस्थापन रहने जनाइएको छ । नेपालमा नै सिमित स्थानमा रहेको बहुउपयोगि खालका मेसिनहरुबाट रगतको विविधिकरण गरि प्रयोगमा ल्याउने विधि अपनाइने सम्झौतामा उल्लेख छ ।
ब्लड बैंकको आवश्यक तयारी स्वरुप मेसिन छनौंट र खरिदको काम सुरु भएको अस्पतालका अध्यक्ष भट्टराईले जानकारी दिए ।
मेसिन खरिदमा झण्डै २ करोडको लगानी लाग्ने अनुमान गरिएको व्यापार संघका अध्यक्ष लोहनीले बताए ।
नेपालमा नेपाल रेडक्रश सोसाइटी अन्तरगत सञ्चालनमा रहेको ब्लड बैंकले मात्र रगत वितरण गर्दै आएको अवस्था छ । यो संझौताबाट त्यो एकाधिकार पनि तोडिने भएको छ ।
त्यस अवसरमा बोल्दै अस्पताल बिकास समितिका अध्यक्ष सूर्य बहादुर भट्टाईले स्वास्थ्य क्षेत्रको सुधारका लागि आज ऐतिहासिक र चुनौतिपूर्ण कामको थालनी भएको बताउदै अस्पतालमा ब्लड बैंकको स्थापना पछि उपचार गर्ने बिरामीको लागी ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे ।
केन्द्र स्थापनाका लागि आर्थिक स्रोत जुटाउने प्रतिवद्धता गरेको रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहोनीले पबित्र कार्यका लागी अस्पतालसंग सहकार्य गरेको बताउदै ब्लड बैंकको लागी आबश्यक सबै उपकरण आफुहरुले ब्यबस्था गर्ने सहमति भएको जानकारी दिए ।
संघले व्यवसायीक हित बाहेक सामाजिक काममा शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा आफुलाई केन्द्रीत गरेको उल्लेख गर्दै उनले यस क्षेत्रको आवश्यक्ता र नागरिकको जिवनसंग जोडिएको रगत व्यवस्थापन गर्ने कामको सुरुवात गरेको बताए ।
कार्यक्रममा अस्पतालका मेसु डा राजेन्द्र खनालले अस्पताल भित्र ब्लड बैंक भएपछि बिरामीको लागी सहज हुने बताउदै यो परियोजना सुरु भएमा उपचारमा नागरिकहरुको पहुँच बढ्ने विश्वास व्यक्त गरे ।








