बुटवल,२६ साउन ।
क्षमता भन्दा तेब्बर लोड वोकेका भारतीय मालबाहक ट्रकका कारण नेपाली ट्रक व्यवसायीको लगानी ध्वस्त भएको भन्दै रुपन्देहीका ट्रक व्यवसायीले बेलहिया नाकामा भारतीय मालबाहक सवारी रोकेका छन् ।
भारतबाट भारबाहन क्षमता भन्दा तेब्बर लोड बोकेर आउने र ती सवारी सिधै मुलुक भरी पुग्दा नेपाली मालबाहक सवारी खाली बस्नु परेको व्यवसायीको गुनासो छ ।
भार क्षमताभन्दा बढी सामान बोकेर भारतीय गाडी निर्वाधचल्दा नेपालका मालबाहक सवारी खाली बस्नु परेको र भारतीय गाडीका कारण नेपालका सडक विग्रिने गरेको भन्दै व्यवसायीले भारतीय मालबाहक गाडी नाकामा रोकेका हुन् ।
भारतबाट सामान बोकेर नेपाल आई भन्सार जाँचपास गरेर बाहिर निस्किएका भारतीय नम्बर प्लेटका मालबाहक गाडी सोमबारदेखि रुपन्देहीको बेलहियास्थित बाइपास सडकमा रोकिएका छन् ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्ष अर्जुन भुसालले भारतीय ओभरलोड बोकेका गाडीका कारण आफूहरुका मालबाहक सवारी खाली बस्नु परेको र नेपालका सडक संजाल भत्किएको भन्दै रोकेको जानकारी दिए ।
‘क्षमताभन्दा दोब्बर–तेब्बर सामान बोकेका यी सवारी भन्सार विन्दुमै भारमिलान गरी गन्तव्यमा जानुपर्ने कानूनी व्यवस्था छ । तर, कानून अवज्ञा गर्दै ओभरलोड बोकेका गाडी नेपालका जुनसुकै ठाउँमा निर्वाध चलिरहेका छन् । नियमक निकाय तै चुप मै चुप भएकाले समस्या विकराल भएको नेपाल ट्रक यातायात व्यवसायी महासंघका निर्वतमान अध्यक्ष अर्जुन रानाभाटले भने ।’ यही कारणले ट्रक यातायात व्यवसायी मर्कामा परेको उनले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख दामोदर मल्लले नाकामा ओभरलोड गाडीलाई अधिकतम एक हजार ५ सय रुपैयाँ जरिवाना काटेर छाड्ने गरेको बताए ।
व्यवसायीले भन्सार विन्दुमै भारमिलान गर्नुपर्ने माग गर्दै आएका छन् । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तिर्थ राज पासवानले भने आर्थिक ऐन र भन्सार ऐनले ओभर लोड हेर्ने जिम्मेवारी नदिएको भन्दै पन्छिने गरेको व्यवसायीको गुनासो छ ।
नियमअनुसार नेपालमा चल्ने मालबाहक ६ चक्के सवारले ९.६, १० चक्केले १६.२, १२ चक्केले २१, १४ चक्केले २५ र १८ चक्केले ३० टन बोक्न पाउँछन् । यही व्यवस्था अनुसार नेपालको सडकमा समेत बढीमा ३० टन बोकेका सवारी गुड्न पाउने व्यवस्था गरिएको छ । तर, भारतीय एउटै सवारीले ९६ टनसम्म सामान बोकेर आउने गरेको नेपाली व्यवसायीको दाबी छ ।
भारतीय मालबाहक गाडीलाई जरिवाना तिरेकै भरमा नेपालमा निर्वाध चल्न दिइएको तर नेपाली मालबाहक गाडीलाई ३० टनभन्दा बढी बोक्न रोक लगाइएकोले उद्योगी–व्यवसायीले नेपाली गाडीमा सामान ढुवानी नगर्ने गरेको ट्रक व्यवसायीको गुनासो छ ।
जरिवाना तिरेकै आधारमा भारतीय गाडीलाई ओभरलोड बोक्न दिइँदा एकातर्फ सडक ध्वस्त भएका छन् भने नेपाली व्यवसायीले काम नै नपाउँदा खाली ट्रक थन्क्याएर राख्नु परेको व्यवसायीहरुको भनाइ ।






