बुटवल, ११ साउन । लुम्बिनी प्रदेशसभा सदस्य पुर्मती ढेंगामगर पार्टीको सम्पर्कमा आएलगत्तै पुनः सम्पर्क बिहीन भएकी छन् । केही दिनदेखि कपिलवस्तुको तौलिहवास्थित एक होटलमा पार्टीको निगरानीमा बस्दै आएकी उनी आइतबार बिहान साढे ११ बजेदेखि पार्टीसँग सम्पर्कविहीन भएकी थिइन् ।

सोमबार बिहान ९ बजेतिर जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिका मुख्य सचिव यज्ञ पोखरेलले गरेको फोन रिसिभ गरेर आफू पार्टीमै रहेको जानकारी गराएकाे केही बेरमै प्रदेश सभा सदस्य ढेंगाले पुनः सम्पर्क बिहिन भएकी हुन् ।
उनी सम्पर्कविहीन भएपछि जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिका मुख्य सचिव यज्ञ पोखरेलले इलाका प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन दिएका थिए ।
ढेंगाले आफू निकै तनावमा भएकाले पार्टी नेताहरुको फोन रिसिभ नगरेको जानकारी गराएको पोखरेलले बताए । पाेखरेलसँगकाे टेलिफोन सम्पर्कमा उनलेे आफू घरमै छु भने पछि पार्टीका नेताहरू घरमा जादा घरमा पनि नभेटिएकाे र फाेन सम्पर्क पनि नभएको जसपाले जनाएको छ ।

सांसद ढेंगाले घरमै छु भने पनि पार्टीका नेताहरु घर पुग्दा उनी रुपन्देहीको तिलोत्तमा महुबारीस्थित घरमा भने नरहेको नेता पोखरेलले जानकारी दिए । ‘उहाँले म निक्कै तनावमा छु, फोनमा धेरै कुरा नगरौं भन्नुभएकाले हामीले भेटेर कुरा गर्न उहाँलाई खोजी गरिरहेका छौं,’ पोखरेलले भने ।

पाल्पाबाट समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य भएकी ढेंगा विगतमा काठमाडौंमा होटल र वैदेशिक रोजगार व्यवसाय गर्ने गर्दथिन् ।