दाङ,११ साउन । संरक्षित वन्यजन्तु जरायाेकाे टाउकाकाे छाला र दुई थान सिङसहित दाङमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका-१ गंगटेका २२ वर्षीय जीवन घर्ती, बबई-४ हापुरेका ३९ वर्षीय इन्द्रबहादुर केसी र सल्यान जिल्लाको शारदा नगरपालिका-४ साइलाकाम्दाका २२ वर्षीय विनोद वली रहेका छन् ।

उनिहरूलाई रा १ च ४९७ नम्बरको एम्बुलेन्समा तुलसीपुरतर्फ आउँदै गर्दा तुलसीपुरको गहते खोलाबाट जरायोको सिङसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बबईको हापुरेबाट पूर्व तुलसीपुरतर्फ आउँदै गरेको एम्बुलेन्समा वन्यजन्तुको ओखेटोपहार रहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तुलसीपुर उपमहानगरपालिका-८ गहते खोला नजिक चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट जरायोको सिङ र छाला बरामद गरेको हाे।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये इन्द्रबहादुर केसी एम्बुलेन्स चालक हुन । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।