बुटवल,१० साउन ।
लुम्बिनी प्रदेश सभा सदस्य पुरमती ढेंगा मगर सम्पर्कबिहिन भएको उनको पार्टी जनता समाजवादी पार्टीले बताएको छ ।

केही दिनदेखि कपिलवस्तुको तौलिहवामा बस्दै आएकी प्रदेश सभा सदस्य ढेगा मगर आइतबार बिहान साढे ११ बजेदेखि पार्टीको सम्पर्कमा नरहेको संसदीय दलका नेता सहसराम यादवले जानकारी दिए ।

उनी सहित जनता समाजवादी पार्टीका केही प्रदेश सभा सदस्य केही दिनदेखि कपिलवस्तुकाे ताैलिहवा स्थित एक होटलमा बस्दै आएकाे बताइएको छ ।
जसपा प्रदेश सभा संसदीय दलकाे प्रमुख सचेतक समेत रहेकी ढेंगाले गत असार ३१ गते एमाले नेताहरुले आफूलाई कति पैसा चाहिन्छ लिनुस्, मन्त्री पनि बन्नुस् भनेर बारम्बार फोनमार्फत अफर गरेको तर आफुले अस्वीकार गरेको भनी कांग्रेस संसदीय दलको कार्यालयमा सबै नेता सामु जानकारी गराएको नेता यादवले बताए ।

पार्टीका नेताहरुले पटक–पटक फोन सम्पर्क गर्दा रिसिभ नभएको उनलेे जानकारी दिए ।

८३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा एमालेका ३८ र जसपाका ३ जना गरी ४१ मत छ । विपक्षी गठवन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख वाहेक) जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना नै छन् ।

निर्णायक अवस्थामा सभामुखले मतदान गर्दा सरकार एक मतले अल्पमतमा पर्ने अवस्था छ । सोही कारण असार ३१ गते प्रदेश सभाबाट वहुमतले बजेट पारित नहुने निश्चित भएपछि मुख्यमन्त्री पोखरेलसहित एमाले सांसदले प्रदेश सभा वैठक कहिस्कार गरेर हिंडेका थिए । र सोही राति सरकारले अधिवेशन अन्त्य गरी अध्यादेशबाट वजेट ल्याएको थियो ।

बहुमत गुमे पनि जसपाको आधिकारिता विवादलाई देखाएर विपक्षीका सांसद फकाएर पुनः वहुमत सिद्ध गर्ने कसरतमा मुख्यमन्त्री पोखरेल निरन्तर क्रियाशील रहेको विपक्षीको आरोप छ ।

यसअघि जसपाकै चारजना सांसदलाई सरकारमा सहभागी गराएर वहुमत पु¥याएको भएपनि असार १८ गते भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि अल्पमतमा परेका छन् ।