बुटवल, १० साउन । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो १८ घण्टाकाे अवधिमा पाँच जना काेराेना संक्रमितको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ ।
मृत्यु हुनेमा रुपन्देही र गुल्मीका २/२ जना र प्यूठानका एक जना रहेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ की ३२ वर्षीया महिला, बुटवल उपमहानगरपालिका–७ का ४४ वर्षीय पुरुष, गुल्मीको चन्द्रकोट–५ का ५६ वर्षका पुरुष, गुल्मी इस्मा–५ का ७१ वर्षीय पुरुष र प्यूठानको सरुमारानी–२ की ६३ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

उनीहरुमा असार २३ गतेदेखि साउन ४ गतेसम्म विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनीहरुको शनिबार साढे एक बजेदेखि आइतबार बिहान सवा ६ बजेको अवधिमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

रूपन्देहीमा केही दिनयता काेराेना संक्रमितको मृत्यु हुने क्रम राेकिएकाे अवस्थामा पछिल्लो १८ घण्टाकाे अवधिमा पाँच जना संक्रमितको मृत्यु भएको हो ।