कपिलवस्तु,८ साउन ।
माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेको हत्यामा संलग्न योजनाकार मृतककै श्रीमती महिमा पाण्डेलगायत ११ जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
पाण्डेयको हत्या गर्ने र हतियार दिने गिरोहमा संलग्न ११ अभियुक्तलाई कपिलवस्तु जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।
माओवादी नेता पाण्डेलाई गत जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरीमा गोली प्रहारपछि घाइते पाण्डेयको उपचारका क्रममा जेठ १० गते काठमाडौंस्थित शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
पाण्डेयसहित तीन जना मोटरसाइकलमा सवार भइ तौलिहवा फर्किंदै गर्दा उनीहरुमाथि गोली प्रहार भएको थियो ।
सो सम्बन्धमा प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी नेतृत्वको टोलीले अनुसन्धानका क्रममा घटनामा संलग्न कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ओमप्रकाश यादव र उनले लुकाइराखेको पेस्तोल एक थान, सोको म्याग्जिन तथा ६८ राउण्ड गोली बरामद गरेको थियो ।
त्यसैगरी हत्यामा संलग्न कपिलवस्तु नगरपालिका २ बस्ने साकिर अलिपखिया र निजले प्रयोग गरेको कटुवा पेस्तोल एवम् गोली २ थान तथा कपिलवस्तु नगरपालिका वडा नम्बर २ घर भइ वडा नम्बर ६ ससुरालीमा बस्दै आएका रमजान साह मुसलमान र निजले घटनास्थलमा प्रयोग गरेको स्वचालित पेस्तोल सोको म्याग्जिन तथा ८ राउण्ड गोली प्रहरीले बरामद गरेको हो ।
प्रहरीले साकिर अलिपखियाले हत्यामा प्रयोग गरेको कटुवा पेस्तोल आफ्नो घरमा लुकाउने कपिलवस्तु नगरपालिका १ का पुर्णवीर पाल्पालीलाई समेत नियन्त्रणमा लिएको थियो ।
त्यस्तै, प्रहरीले पाण्डेय हत्यामा आवश्यक पर्ने हतियार उपलब्ध गराएका र हतियार राख्न सहयोग पुऱ्याएका ६ जनालाई नै नियन्त्रणमा लिएको थियो ।
प्रहरी नियन्त्रणमा आएका हतियार बेचबिखन र ओसारपसारमा संलग्न व्यक्तिहरुमा कपिलवस्तु नगरपालिका वडा नम्बर २ बरदहवाका सद्दाम हुसेन खान, सोही वडाको बरगदवाका प्रवीण गुप्ता, यशोधरा गाउँपालिका ४ का ज्ञानेन्द्रकुमार पाण्डेय र राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का श्रीराम कुर्मी, वडा नम्बर १ मस्जिद टोलका नरसत अली रहेका छन् ।
घटनामा संलग्न व्यक्ति र हातहतियार खोजतलासका लागि प्रहरीले चलाएको “माइक व्हिस्की”अप्रेशनबाट उनीहरुलाई पक्राउ गरिएको हो ।








