बुटवल,७ साउन । बुटवल उपमहानगरपालिकाले कोरोना महामारीका बीच पनि राजश्व संकलनमा कमि नआएको जनाएको छ ।
करको दर बृद्वि नगरी दायरा बढाएकाले धेरै करदाता करको दायरामा आउदा कोरोना महामारीमा पनि राजश्व संकलनमा कमि नआएको उपमहानगरपालिकाकाे दाबी छ ।
बुटवल उपमहानगरपालिकाद्वारा बिहीबार आयाेजित पत्रकार सम्मेलनमा नगर प्रमुख शिवराज सुवेदीले करको दर बृद्वि नगरी दायरा मात्रै बढाएकाले धेरै करदाता करको दायरामा आउदा कोरोना महामारीमा पनि राजश्व संकलनमा कमि नआएकाे बताएका हुन् ।
विश्वव्यापी कोरोना महामारीका बीच पनि उपमहानगरको आन्तरिक श्रोत अन्तरगत राजश्व संकलनको लक्ष्य १०७ दशमलव ४ प्रतिशत पूरा गरेकाे उपमहानगरपालिकाले जनाएको छ ।
अघिल्लो आर्थिक बर्ष २०७६/०७७ मा ४७ करोड १ लाख राजश्व संकलन भएकोमा गत आर्थिक बर्ष २०७७/०७८ मा ५० करोड ४९ लाख राजश्व संकलन भएको उपमहानगरका वित्त व्यवस्थापन प्रमुख विष्णु प्रसाद खनालले जानकारी दिए ।
बुटवल उपमहानगरले गत आर्थिक वर्ष २०७७/०७८ मा ६८ दशमलव ५४ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सफल भएको छ । गत वर्ष कोरोना महामारीले रोकिएका योजनाहरुलाई कार्यान्वयन र सम्पन्न गर्ने कुरालाई प्राथमिकतामा राखेको उपमहानगरले यो वर्ष पूँजीगत तर्फ ६३ दशमलव ७३ प्रतिशत लक्ष हासिल गर्न सफल भएको हो ।
कोरोना महामारीले प्रभावित बनेको गत वर्ष ५६ दशमलव १९ प्रतिशत लक्ष्य हासिल गरेको थियो । यसैगरी पूँजीगत तर्फको वित्तीय प्रगतिमा समेत गत वर्षको तुलनामा बढी सफलता प्राप्त गरेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरले गत वर्ष ७५ दशमलव ६३ प्रतिशत लक्ष्य प्राप्त गरेको छ भने अघिल्लो आर्थिक वर्षमा ६७ दशमलव ३३ प्रतिशत लक्ष्य प्राप्त गरेको थियो ।
विश्वव्यापी फैलिएको कोरोना महामारीकाबीच पनि बुटवलको घर–जग्गा कारोबारमा कमि नआएको उपमहानगरपालिकाले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा घर जग्गा रजिष्टेशन दस्तुर बापत १२ करोड ८४ राजश्व संकलन गर्न सफल भएको बुटवल उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ मा १६ करोड २० लाख राजश्व संकलन भएको होइन । राजश्व संकलनमा मूख्य श्रोत नै घरजग्गा कारोबार देखिएको छ । यसैगरी उपमहानगरले गत वर्ष मूल्य अभिवृद्धि कर बापत १५ करोड ७ लाख, सवारी साधनबाट ३ करोड ९ लाख, विज्ञापनबाट १६ लाख, बन रोयल्टीबाट २१ लाख तथा विद्युत सम्बन्धि रोयल्टी २ लाख गरी कुलन ३४ करोड ७५ लाख राजश्व प्राप्त गर्न सफल भएको छ ।
विश्वव्यापी कोरोना महामारीको प्रभावलाई मध्यनजर गरी बुटवल उपमहानगरले घर बहाल सम्झौताको म्याद एक वर्षका लागि थप गरेको छ । महामारीले सम्पूर्ण आर्थिक क्षेत्र धरासयी भएको अवस्थामा राहत स्वरुप २०७८ असार मसान्तसम्म म्याद समाप्त भएको घर बहाल सम्झौताहरुमा एक वर्ष म्याद थप गरेको हो । सो अवधिसम्म हरेक वर्ष भाडादरमा नियमित वृद्धि हुँदै आएकाे भाडा पनि वृद्धि नगर्ने उपमहानगरपालिकालेे निर्णय गरेको छ । गत वर्षकै मूल्यको आधारमा भाडा उठाउने गरी २०७९ असार मसान्तसम्म पुरानै सम्झौता अनुसार बहालमा रहन पाउने व्यवस्था गरिएको बुटवल उपमहानगरकाले जनाएको छ ।








