काठमाडौ,७ साउन ।
आज बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती ठाउँका पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले भारी वर्षासँगै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको पनि महाशाखाद्वारा जारी बुलेटिनमा जनाइएको छ ।

महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।