बुटवल,६ साउन ।
पार्टीका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोईरालाको ३९ औं स्मृति दिवस आज रूपन्देहीमा पनि बिबिध कार्यक्रम गरि मनाइएको छ ।
स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस रुपन्देहीले बुधबार तिलोत्तमा नगरपालिका वडा नं. १७ मा रहेको बीपी ग्राममा बृक्षरोपण गरेको छ ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा पूर्व सभापति रामचन्द्र ढकाल, सचिव रामकृष्ण खाँण लगायतले नेपालकाे राजनीति र साहित्यिक इतिहासमा स्व.बिपी काेइरालाले पुर्याएकाे याेगदानकाे बारेमा चर्चा गरेका थिए ।
त्यसैगरी बीपी कोईरालाको स्मृती दिवसकै अवसरमा आजै बुटवलको बिपी चाेकमा अवस्थित उनको सालिकमा माल्यार्पण गरिएको छ ।
नेपाली काँग्रेस बुटवल उपमहानगर समितिले बुधबार बिहान बुटवल उपमहानगरपालिका वडा नं. ६ बीपी चोकमा रहेको बीपीको शालिकमा माल्यार्पण गरेको हो ।
साे अवसरमा बोल्ने काँग्रेस नेताहरुले बीपीको बिचार र सिद्धान्त आजसम्म आईपुग्दा पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै बीपीले देखेको सपना संविधान सभामार्फत संविधान निर्माण भएपनि कार्यान्वयनमा अलमल भएकोमा चिन्ता व्यक्त गरेका थिए ।
झण्डै दुई तिहाई बहुमत पाएको एमाले नेतृत्वको कम्युनिष्ट सरकारले संविधान कार्यान्वयनको साटो लथालिङ्ग पार्ने काम गरेको बताउँदै उनिहरूले अहिले संविधानको रक्षा र कार्यान्वयनको जिम्मेवारी काँग्रेसकै काधमा आएकोले काँग्रेस नेतृत्वको सरकारले आफैले जारी गरेको संविधान पूर्ण कार्यान्वयनमा लैजाने सुनौलो अवसर भएको बताए ।
संविधानको रक्षा र कार्यान्वयन गराउने यो अवसरलाई राम्रोसंग सदुपयोग गरेर आम नागरिकप्रति पूर्ण भरोसा र विश्वासको वातावरण निर्माण गर्न समेत वक्ताहरूले सरकारलाई आग्रह गरे । काँग्रेसको नेतृत्वमा जारी भएको संविधान एमाले नेतृत्वको कम्युनिष्ट सरकारले धरापमा पारेको बताउँदै उनीहरुले ढिलै भएपनि संविधान कार्यान्वयनको जिम्मेवारी काँग्रेसकै काधमा आएकाले त्यसबाट नचुक्न नेतृत्वको ध्यानाकर्षण गराए ।
कार्यक्रममा बोनेपाली कांग्रेस महासमिति सदस्य युवराज गिरीले संकटमा पुगेको संविधानको रक्षा गर्दै कार्यान्वयन गर्ने सुनौलौ अवसर प्राप्त भएको बताउदै यो अवसरलाई राम्रोसँग सदुपयोग गर्नुपर्नेमा जाेड दिए ।
अर्का महासमिति सदस्य बालकुमार भण्डारीले बीपीको बिचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको र युगौंसम्म पनि उत्तिकै सान्दर्भिक हुने विश्वास व्यक्त गर्दै बीपीका बिचार र सिद्धान्तलाई आम नागरिकसम्म पु¥याउनु पर्ने आवश्यकता ओल्याइन् ।
नेपाली काँग्रेस बुटवल उपमहानगरसमितिका सभापति खेलराज पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति बिमलराज भट्टराईले स्वागत र सचिव भवानीप्रसाद शर्माले सञ्चालन गर्नुभएको थियो ।








