काठमाण्डाै,६ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । मंगलबार बसेकाे बोर्ड बैठकले साउन ३१ गतेदेखि कक्षा १२ काे परीक्षा सुरु गर्ने निर्णय गरेसँगै परिक्षा तालिका सार्वजनिक गरेको हो ।
साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ११ बजेदेखि दिउँसाे २ बजेसम्म सञ्चालन हुनेछ । विद्यार्थीहरूले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने छन् । गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण लगाइएको निषेधाज्ञाले गर्दा स्थगित भएको थियो ।
यस वर्ष सय पूर्णाङ्क रहने गरि नै परीक्षा भौतिक उपस्थितिमा गर्ने बोर्डले निर्णय गरेको छ । गएको वर्ष बोर्डले ४० प्रतिशतका लागि परीक्षा लिएर बाँकी ४० प्रतिशत कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षा लिएको थियो ।









