गुल्मी,४ असार ।
लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले शंकर पोखरेल अवैधानिक मुख्यमन्त्री भएको दाबी गरेका छन् ।
प्रेस संगठन गुल्मीद्वारा साेमबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै उनले अल्पमतमा रहेर पनि
पोखरेल मुख्यमन्त्री पदमा टाँसिएर बसेको आरोप लगाए ।
‘लुम्बिनी प्रदेशमा कुल ८३ सांसदमध्ये ३८ जनामात्रै शंकर पोखरेलको पक्षमा छन्,’ माओवादी केन्द्रका प्रदेशसभा सदस्यसमेत रहेका उनले भने, ‘जबकि हाम्रो पक्षमा ४५ जना छन् ।’
बजेट पास नहुने भएपछि मुख्यमन्त्रीले मध्यरातमा चोरबाटोबाट चालु प्रदेशसभा अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको उनको भनाइ थियो । कानुनी र राजनैतिक रुपमा प्रतिवाद गरेर मुख्यमन्त्री पोखरेललाई विस्थापित गरेरै छाड्ने उनलेे बताए ।
उनले ‘ओली प्रवृत्ति’का कारण बिग्रिएको केन्द्रीय राजनीति आइतबारदेखि सही बाटोमा आएको तर्क गर्दै प्रदेशहरुमा पनि ओली प्रवृत्तिको छायाँ बिस्तारै हराउँदै जाने विश्वास व्यक्त गरे ।
बरालले आफु सामाजिक विकास मन्त्री हुँदा प्रदेशको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको दाबीसमेत गरे ।
गुल्मीदरवार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापाको निधनमा समवेदना दिन गुल्मी आएका पूर्वमन्त्री बरालले स्वर्गीय थापा नेपालको प्रजातान्त्रिक आन्दोलनका एउटा अथक योद्धा भएको बताए ।





