काठमाण्डाै,३ असार । अहिले लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ । अबको तीन दिन नै यी प्रदेशमा वर्षा हुने जल तथा माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
यी प्रदेशका केही ठाउँमा धेरै ठूलो र धेरैजसो ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । तीन दिन नै ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम उच्च छ । यस्तै, आज वाग्मती प्रदेश र प्रदेश-१ मा पनि ठूलो पानी पर्ने मौसमविद् अर्यालले बताए ।
मनसुन सक्रिय नै रहेकाले देशभरको मौसम बद्ली भएको छ भने धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । अबको तीन दिन नै देशभरको मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । आज राति पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र प्रदेश-१ का केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको छ । यस्तै, राति सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा धेरै ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।






