काठमाण्डाै,२ असार ।
नेपालमा मनसुन थप सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसोदेखि नेपाल मनसुन थप सक्रिय भएको महाशाखाले जनाएको हो ।
अहिले लुम्बिनी प्रदेश सहित वाग्मती र प्रदेश १ का केही ठाउँमा भारी वर्षा भैरहेको छ । काठमाण्डौ उपत्यका र प्रदेश दुई तथा गण्डकीमा पनि पानी परिरहेको छ । आज राति, भोली र पर्सिसम्म नै पानी पर्ने सम्भावना रहेको महाशाखामा मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।
अबको तीन दिन पश्चिम तराईमा बढी पानी पर्ने तथा पहाड र हिमाली क्षेत्रमा तुलनात्मक रुपमा कम पानी पर्ने मौसमविद्को अनुमान छ । भोलि सुदूरपश्चिम, कर्णाली, लुम्बिनीका थोरै ठाउँमा ठूलो पानी पर्ने र पर्सि प्रदेश एक, प्रदेश दुई, वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षाको सम्भावना छ । अरु ठाउँमा पनि हल्कादेखि मध्यमखालको पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् ।
मनसुन थप सक्रिय भएकाले केही नदी तथा खोलामा बाढीको जोखिम बढ्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ ।






