जनकपुरधाम,३० असार ।
त्रुटि सच्याउने प्रतिवद्वतापछी प्रदेश २ को बजेट सर्वसम्मतिबाट पारित भएको छ । प्रक्रिया छोट्याएर बुधबार प्रदेशसभाबाट सर्वसहमतिले बजेट पारित भएको हो ।

आर्थिक वर्ष २०७७–०७८ का लागि असार १ गते प्रदेश सरकारले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट प्रदेश सभामा पेश गरेको थियो । बजेटको चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार (४६.२६ प्रतिशत), पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार (५३.४४ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ १० करोड (०.३० प्रतिशत) छुट्याइएको छ।

असारभित्रै बजेट पारित गर्नुपर्ने बाध्यताका कारण सरकारले प्रक्रिया छोट्याएर बजेट पारित गरेको हो।

मन्त्रालयको बजेट र अबण्डा रकमबारे विपक्षी दलले विरोध गरेपछि मुख्यमन्त्री लालबाबु राउतले दुई दिन सहमतिका लागि प्रयास गरेका थिए ।

प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले समय अभाव र राजनीतिक अवस्थाका कारण बजेटमा त्रुटि र कमीकमजोरी भएको स्विकार गर्दै बजेटमा भएको त्रुटि मन्त्रिपरिषदको रेडबुक सच्याउने प्रतिबद्धता जनाएपछि बजेट पारित भएको हो।

मुख्यमन्त्री लालबाबु राउतले बजेट पुस्तिकामा रहेको अबन्डा सत्ता पक्ष र विपक्षका सांसदलाई समावेशी रूपमा पारदर्शी तवरले उपलब्ध गराउने प्रतिवद्वता जनाएका थिए ।