दाङ,३० असार । दाङमा टिपरका लागि समय तालिका अर्थात् टाइम कार्ड लागू गरिएको छ ।

टाइम कार्ड लागू भएसँगै आजदेखि दाङमा बिहान ८ बजेदेखि साढे १० बजेसम्म, दिउँसो ३ बजेदेखि बेलुकी ५ बजेसम्म र राति १० बजेदेखि बिहान ५ बजेसम्म टिपर चल्न नपाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले नियम विपरीत भारवहनको दोब्बर बढी चुनढुङ्गा बोक्ने, तीव्र गतिमा कुदाउने, ट्राफिक नियम पालना नगर्ने जस्ता समस्या बारम्बार देखिने गरेकाले समय तालिका अनुसार टिपर सञ्चालन गर्न लगाउने निर्णय भएको प्रशासन कार्यालयले जनाएको छ ।

टिपर व्यवसायी, उद्योगी व्यवसायी, घोराही उपमहानगर र बङ्गलाचुली गाउँपालिका समेतको समन्वयमा समय कार्ड लागू गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । बढी भार बोक्ने टिपरको ढाला काट्ने तथा घोराही र बङ्गलाचुलीले एक–एक वटा धर्मकाँटा निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याउने निर्णय समेत बैठकले गरेको छ ।