बुटवल,२८ असार । प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णय बदर गरि प्रतिनिधिसभा पुनः स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाकाे नेपाली कांग्रेस सहित रूपन्देहीमा क्रियाशील विपक्षी गठवन्धनले स्वागत गरेका छन् ।
फैसला लगत्तै संयुक्त विज्ञप्ति जारी गरि विपक्षी गठवन्धनले फैसलाकाे स्वागत गर्दै फैसलाले लाेकतन्त्र,न्याय र विधिको शासनलाई बचाएकाे जनाएका हुन् ।
नेपाली कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाक,नेकपा माओवादी केन्द्र रूपन्देहीका सचिव निर्मल जिसी,नेकपा एमाले नेपाल-खनाल समूहका रूपन्देही अध्यक्ष राजु गुरूङ,जनता समाजवादी पार्टी रूपन्देहीका अध्यक्ष राम अवतार यादव र राष्ट्रिय जनमाेर्चाका जिल्ला अध्यक्ष बद्रे आलमद्वारा संयुक्तरूपमा जारी विज्ञप्तिमा कसैको डरधम्कीबाट विचलित नभइ दुधकाे दूध पानीको पानी छुट्टयाउने अदालतकाे कदमले लाेकतन्त्र,न्याय र विधिको शासनलाई बचाएकाे जनाइएकाे छ ।
फैसलालाई ऐतिहासिक फैसलाकाे संज्ञा दिदै विज्ञप्तिमा फैसलाले संविधान र राष्ट्रकाे गरिमा उचाे बनाएको उल्लेख छ ।
पटकपटकको संसद विघटन र संविधानमाथिको प्रहारले आम नेपाली जनता आजित भएको अवस्थामा भएको सर्वोच्चकाे यो फैसलाले शान्ति,समृद्धि र राजनीतिक स्थायित्व प्रतिकाे नेपाली जनताको चाहना पूरा भएको जनाउँदै विज्ञप्तिमा फैसलाकाे इतिहासले मुल्यांकन गर्ने जनाइएको छ ।







