प्रकाश खनाल
बुटवल,२८ असार ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आर्थिक वर्ष २०७८÷०७९ को बजेटको विपक्षी गठबन्धन दलका प्रदेश सभा सदस्यहरुले बिरोध गरेका छन् ।
सोमबार बसेको प्रदेश सभाको वैठकमा प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको वजेटमाथीको छलफलमा सहभागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित विपक्षी दलका प्रदेश सभा सदस्यहरुले प्रदेश सरकारले ल्याएको वजेट प्रदेशको समृद्धि भन्दा पनि एमाले कार्यकर्ता पोष्ने खालको भएको आरोप लगाए ।
वैठकमा नृपाली कांग्रेसका प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीले विपक्षी दलहरुलाई बाइपास गरेर वजेट ल्याइएको भन्दै वजेट प्रदेश सभाबाट नभएर नेकपा एमाले पार्टी कार्यालयबाट पास गराउन व्यङ्गे गरे ।
विपक्षी दलहरुको सदासयताकै कारण प्रदेश सभामा वजेटमाथिको छलफल सुरु भएको भन्दै उनले अझै पनि प्रदेश सरकार विपक्षी दलहरुलाई पेलेरै जाने नीति अवलम्बन गरेको गुनासो गरे ।
वजेटमाथिको छलफल जस्तो महत्वपूर्ण बिषयमा प्रदेशका मुख्यमन्त्री अनुपस्थित हुनु बिडम्बनापूर्ण भएको भन्दै उनले प्रदेशका जनतालाई कोभिड संक्रमणबाट जोगाउने भँदा पनि मुख्यमन्त्री शंकर पोखरेल संघीय सरकार जोगाउनेतिर लागेको आरोप लगाए ।
नेपाली कांग्रेसकै अर्की प्रदेश सभा सदस्य रमा आर्यालले वजेट कुनै नीति,सिद्धान्त र मापदण्डमा आधारित नभएर पहूच र प्रभावको आधारमा मनोगत रुपमा ल्याइएको भन्दै वजेट पारित गराउन सरकारलाई सहयोग गर्न नसकिने बताइन ।
उनले प्रदेश सभा सदस्यहरुसँग छलफल र कुनै सल्लाह नगरी एमाले कार्यकर्ताहरुको निवेदनको आधारमा वजेट ल्याइएको भन्दै वजेट पनि एमाले पार्टी कार्यालयबाटै पारित गराउन चेतावनी दिइन् ।
नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य इन्द्र प्रसाद खरेलले अल्पमतको सरकारले ल्याएको वजेटमाथि छलफल गर्नुको औचित्य नभएको टिप्पणी गरे ।
प्रदेश सभामा बहुमत सिद्ध पनि नगर्ने अनि अल्पमतको सरकारले जबर्जस्ती वजेट ल्याउनु नैतिकताको सामान्य सिद्धान्त बिपरीत भएको भन्दै उनले या प्रदेश सभाबाट बहुमत सिद्ध गरेर देखाउन या राजिनामा दिन मुख्यमन्त्री पोखरेललाई चुनौती दिए ।
बैठकमा माओवादी नेपाली कांगेसका प्रदेश सभा सदस्य अर्जुन कुमार श्रेष्ठले वजेटले गरिब,दुखी,विपन्न तथा मजदुर वर्गलाई समेट्न नसकेको बताए ।
उनले प्रदेश सरकारले प्रदेश सभामा दर्ता गराएको सञ्चार विधेयकको चौतर्फि बिरोध र्भरहेको भन्दै उक्त विधेयक तत्काल फिर्ता लिन माग गरे ।
वजेटमाथिको छलफलमा सहभागि हुदै केन्द्रका प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन र तिलकराम शर्माले पनि वजेट प्रदेशको समृद्धि भन्दा पनि एमाले कार्यकर्ता पोष्ने खालको भएको भन्दै बिरोध जनाए ।
त्यस्तै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भुवनेश्वर चौधरी र मोहमद याकुब अन्सारीले पनि वजेट न्यायोचित र समानुपातिक समावेशी नभएको भन्दै प्रस्तुत वजेटले प्रदेशको समृद्धि नहुने बताए ।
वैठकमा सत्तारुढ दल नेकपा एमालेका प्रदेश सभा सदस्य लिला गिरी,कमलराज श्रेष्ठ,तुल्सी प्रसाद चौधरी र अर्जुन कुमार केसीले भने वजेट देखि समग्रमा राम्रो रहेको भन्दै वजेटको सफल कार्यान्वयन भए प्रदेश समृद्ध हुने विश्वास व्यक्त गरे ।
प्रदेश सभाको अर्को बैठक असार २९ गते मंगलबार बिहान ११ बजे बस्ने छ ।








