काठमाण्डाै,२८ असार ।
अबको तीन दिन नै पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पुर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता देशभर पानी परिरहेको र यो क्रम अझै केही दिन कायमै रहने मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । लगातार झरी पर्ने सम्भावना भने छैनरहेको उनकाे भनाइ छ ।

बङ्गालको खाडीबाट जलवाष्युक्त हावा नेपाल भित्रिरहेकाले पनि मनसुन थप सक्रिय भएको छ । गएराति प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । रुपन्देहीमा एक सय मिलीमिटर पानी परेको छ । यस्तै, डडेल्धुरामा १ सय १० मिलीमिटर, डोटीमा ८८ मिलीमिटर र नवलपरासीमा ९७ मिलीमिटर वर्षा भएको मापन गरिएको छ ।

आज पनि प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् गंगा नगरकोटीकाे अनुमान छ । प्रदेश-२, लुम्बिनी र कर्णाली प्रदेशमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् नगरकोटीले बताए । अझै केही दिन पानी पर्ने सम्भावना रहेकाले भिरालो जमिनमा पहिरो जाने र नदी तथा खोला आसपासमा बाढीको जोखिम हुने भएकाले आवश्यक सावधानि अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।