पोखरा,२३ असार । पर्वतमा खहरे खोलामा आएको बाढीले गाडी बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

गाडीमा सवार मध्यपहाडी लोकमार्गको ठेकेदार कम्पनी लामा कन्सट्रक्सनका इन्जिनियर र चालक बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।

बेपत्ता हुनेमा मध्यपहाडी लोकमार्ग आयोजनाका साइड इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारु रहेका छन् ।

गयराति १० बजेतिर कुश्मा नगरपालिका ८ दोबिल्लाको खहरे खोलाको बाढीले बगाएर बेपत्ता भएको गाडी मोदी खोलामा भेटिएको तर, खोलाको बहाव एकदमै ठूलो भएकाले निकाल्नै नसकिएको प्रजिअ खत्रीले बताइन् । वेपत्ताहरुको अवस्था अझै अज्ञात रहेको र उनिहरूकाे खाेजतलास भैरहेको प्रहरीले जनाएको छ ।

उक्त बाढीले सोही स्थानकै चार वटा टहरा र मध्यपहाडी लोकमार्ग निर्माण कम्पनीकै दुई वटा मोटरसाइकल र एउटा स्कुटर समेत बगाएको प्रजिअ खत्रीले जानकारी दिइन् । बाढीपहिरोले अहिले बाटो पूरै बन्द भएको र बाटो खुलाउन समस्या भैरहेको उनले बताइन् ।