बुटवल,२० असार । लुम्बिनी प्रदेश सभामा दर्ता भएको संचार सम्बन्धि विधेयक पुनर्लेखनकाे माग गर्दै नेपाल पत्रकार महासंघ रूपन्देहीले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पाेखरेलकाे नेतृत्वमा गएको पत्रकारहरूकाे टाेलीले प्रदेशका प्रमुख सचिव भरतमणी सुवेदीलाई ज्ञापनपत्र बुझाएको महासंघ रूपन्देहीका सचिव विनोद परियारले जानकारी दिए ।
प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरेको संचार विधेयक प्रेस स्वतन्त्रता विरोधीरहेको भन्दै पुर्नलेखनकाे माग गर्दै प्रदेशका १२ वटै जिल्ला प्रशासन कार्यालय मार्फत मुख्यमन्त्री शंकर पाेखरेललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम अनुसार पत्रकार महासंघ रूपन्देहीले प्रदेशको अस्थायी मुकाम बुटवल स्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।
प्रदेश सभामा विधेयक दर्ता भएसँगै विधेयकको बिराेध जनाएको पत्रकार महासघले पहिलो चरणको आन्दोलन अनुरूप आज रूपन्देहीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय र प्रदेशका सबै प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा ज्ञापनपत्र बुझाएको महासंघका प्रदेश महासचिव विक्रम खड्काले जानकारी दिए ।
सरोकारवाला पक्षसंग गहन छलफल नगरी निरंकुशशैलीमा संचार विधेयक अघि बढााएको भन्दै महासघले पहिलो चरणको आन्दोलन शुरु गरेको हो ।
यस अघि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई भेटेरै विधेयक पुर्नलेखनको वातावरण अघि बढाउन माग गरेपनि सुनुवाई नभएपछि आन्दोलनको तयारीमा लागेको महासघका लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीले बताए । उनले संवैधानिक हकअधिकारसमेत कुण्ठित गर्ने गरि कानुन निमार्णको प्रयास भएकोले त्यसका विरुद्ध महासघ आन्दोलनमा जान बाध्य भएको बताए ।
उनले भने – पत्रकारहरुकै कलम रोक्ने आशयले विधेयक आएको महसुस भएको छ, त्यसकारण यो खारेज गरेर पुर्नलेखनको वातावरण निर्माण गर्न हाम्रो आन्दोलन हो । समाचार लेखेकै भरमा जेल संजाय देखि डण्डजरीवाना राखेर शाही सासनको झल्को दिने गरि कानुन निमार्णको प्रयास गर्नु गंभिर आपत्तीको विषय भएकोले यसका विरुद्ध आवाज उठाउन समेत सम्वद्व सबैलाई अध्यक्ष गिरीले अपिल गरे ।
पहिलो चरणको कार्यक्रमपछि पनि सराकार संवेदशील नभएमा त्यसका विरुघ अझै कडा खालका आन्दोलनका कार्यक्रमहरु संचालन गर्ने महासंघको तयारी छ ।
प्रदेश सरकारले तयार गरेको संचार माध्यम सम्वन्धी उक्त विधेयक प्रदेश सभामा दर्ता भएको छ । जसमा गंभिर खालका व्यवस्थाहरु राखिएको भन्दै सर्वत्र आलोचना भैरहेको छ ।
पत्रकारहरुलाई कानुनको डण्डा देखाएर स्वार्थपुर्तिको सपना कसैले देखेको भए त्यो पुरा नहुने नेपाल पत्रकार महासघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले बताए । लुम्बिनीको संचार विधेयकका विषयमा नेपाल पत्रकार महासघ निकै गंभिर रहेको भन्दै त्यसका विरुद्ध आन्दोलनको विकल्प नभएको उनलेे बताए । त्यस विषयमा नेपाल पत्रकार महासघ लुम्बिनीले पटक पटक सरोकारवालाहरुसंग भर्चुवल र भौतिक रुपमै पनि कार्यक्रम चलाउदै आएको छ ।








