बुटवल,२० असार ।
बुटवल कालिकानगर स्थित चौराह अस्पताल प्रालिले एक असहाय बिरामीको निशुल्क शल्यक्रिया गरेको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित धिरीखोलाको नदी तटिय क्षेत्रमा बसोबास गर्दै आएका अति विपन्न परिवार नरबहादुर कुमालको खुट्टाको शल्यक्रियामा लागेको ८७ हजार रूपयाँ अस्पतालले मिनाहा गरिदएको हो ।
रूखबाट लडेर खुट्टा भाचिएका कुमालको आर्थिक अवस्था अत्यन्त कमजोर थाहा पाए पछि उनको शल्यक्रियामा खर्च भएको ८७ हजार रकम मिनाह गर्ने निर्णय गरेको अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले जानकारी दिए ।
अस्पतालका र्थोपेडिक सर्जन डा मदन ज्ञवालीकाे टिमले उनको जटिल शल्यक्रिया गरेका हुन ।
असार ८ गते रूखबाट लडेर खुट्टाको हड्डि क्षतविक्षत भएका कुमालकाे आर्थिक अवस्था कमजोर भएकोले उनको उपचारका लागि स्थानीय समाजसेवी तथा वैदेशिक राेजगारीमा रहेका व्यक्तिहरूबाट समेत आर्थिक संकलन गरिएको थियोे ।
आर्थिक अभावका कारण परिवारका सदस्यले सहयोग उठाउन सुरु गरे पनि पर्याप्त सहयोग नजुटेपछि स्थानीय सामुदायिक वन, विभिन्न संघ संस्थाहरु, युवा क्लव तथा युवा अभियान्ताहरुले आर्थिक सहयोग गरेको जनाइएको छ ।
स्थानीय समाजसेवी तथा जसपा नेपालका कन्द्रीय सदस्य नारायण खनालले सामाजिक सञ्जाल फेसबुक मार्फत कुमालकाे निशुल्क शल्यक्रिया गर्ने चाैराह अस्पताल प्रालि र उपचार खर्च जुटाउन सहयोग गर्ने सहयोगदाताहरू प्रति आभार व्यक्त गरेका छन् ।
कुमालको उपचारका लागि सहयोग संकलन तथा उपचारका लागि स्थानीय समाजसेवीहरु नारायण खनाल, दिपक थापा, राजु खड्का र गोपाल गिरीले मुख्य पहल गरेका थिए भने कपिलवस्तु सामुदायिक अस्पतालका व्यवस्थापक चन्द्रकान्त पोख्रेल लगाएत भलवाडका स्थानीय युवाहरुले आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए ।
अहिले उनलाई आफ्नै घरमा ल्याइएको पारिवारिक स्रोतले जनाएको छ ।








