३ वर्षपछि अभियुक्त पक्राउ

कपिलवस्तु,१९ असार ।
वैदेशिक रोजगारीमा छोराले राम्रो काम नपाएकाे रिसमा एजेन्टको हत्या भएको रहस्य खुलेको छ ।
तीन वर्षअघि कपिलवस्तुमा भएको एउटा हत्याको घटना वैदेशिक रोजगारीमा भएको ठगीसँग जोडिएको पाइएको हो ।

हत्यामा संलग्न अभियुक्त तीन बर्षपछि पक्राउ परेपछि उक्त रहस्य खुलेको हो ।
२०७५ साल चैत १७ गते राति कपिलवस्तुको कृष्णनगरका ५५ वर्षीय पारस पुरीको गोली हानी हत्या भएको थियो । हत्यामा संलग्नको आरोप लागेका पशुपति कुर्मी हालै पक्राउ परेका छन् ।

पुरीले वैदेशिक रोजगारीमा कामदार पठाउने एजेन्टको काम गर्थे । कपिलवस्तुको विजयनगर गाउँपालिका–७ का ५० वर्षीय कुर्मी जिल्लाको महाराजगंज नगरपालिका हर्दौनास्थित नेपाल भारत सिमानामा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

छोरा दिनेशकुमार कुर्मीलाई बहराइन पठाउँदा एजेन्ट पुरीले एक लाख पन्ध्र हजार रुपैयाँ लिएको तर भने अनुसार काम नपाएपछि कुर्मीले पटक पटक पैसा फिर्ता मागेका थिए । तर एजेन्ट पुरीले पैसा फिर्ता नगरेपछि रिसइवी बढेको र गोली हानेर हत्या भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

कुर्मीले पुरीको हत्या गर्ने योजना बनाई २०७५ चैत १७ गते राति ९ बजे तीन जनासहित आई गोली हानेर फरार भएको प्रहरीले जनमएको छ । गोली हानेपछि उनीहरू भारततर्फ भागेका थिए । पुरीलाई हत्या गर्न कुर्मीले भारतीय नागरिकलाई पाँच हजार भारतीय रुपैया दिएको समेत अनुसन्धानबाट खुल्न आएको प्रहरीको दाबी छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।