आफ्नै अभिव्यक्तिका कारण मुख्यमन्त्री पाेखरेल नैतिक संकटमा
बुटवल,१८ असार ।
शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा अल्पमतमा परेकाे छ ।
जनता समाजवादी पार्टीबाट पाेखरेल नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएर जसपाकाे यादव समूहमा फर्कीएसँगै पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेसँग ३८ जना सांसद छन् ।
मुख्यमन्त्री पाेखरेल बिरूद्व अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने पार्टी निर्णय बिपरित जसपाका ४ जना प्रदेश सभा सदस्य पाेखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि १ संख्याले मात्रै बहुमतमा रहेको प्रदेश सरकार राज्यमन्त्री रायमाझीको राजीनामासँगै समर्थन समेत नरहेको घाेषणा गरेपछि अल्पमतमा परेको हो ।
आफू अल्पमतमा परे एक मिनेट पनि सरकारमा नबस्ने अभिव्यक्ति दिएका मुख्यमन्त्री पोखरेल अंक गणितका आधारमा पनि अल्पमतमा परेपछि नैतिक दवावमा परेका छन् ।
सरकारलाई बहुमत पुग्न कम्तीमा ४२ सांसद चाहिन्छ । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १८, जनता समाजवादी पार्टीका ३ र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४१ जना सांसद सरकारको विपक्षमा छन् ।
मुख्यमन्त्री पोखरेलले गत जेठ २८ गते प्रदेश सभा बैठकमा र सम्बोधन गर्दै ‘बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा बस्दिन ।’ भनेका थिए । पोखरेलको त्यही भनाईको स्मरण गर्दै अव पोखरेलले मार्ग प्रसस्त गर्नु पर्ने माओवादी केन्द्रका नेता एवं प्रदेश सांसद सुदर्शन बरालले बताए । पूर्व सामाजिक विकास मन्त्री समेत रहेका बरालले मुख्यमन्त्रीको राजीनामाको विकल्प नरहेको बताउँदै राजनीतिकरुपमै इमान्दारिता देखाउन आग्रह गरे ।
उनकै पार्टीका गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट पाठ सिकेर मुख्यमन्त्री पोखरेलले राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री पाेखरेलले राजीनामा नदिए यसअघिको प्रदेश सभा बैठकमा आफु नेतृत्वको सरकार अल्पमतमा परे एक मिनेट पनि सरकारमा नबस्ने मुख्यमन्त्रीकाे भनाइ यही असार २७ गते बस्ने प्रदेशसभा बैठकमा उनलाई सुनाईने बरालले बताए ।








