काठमाडौं, १८ असार ।
नेपालमा शुक्रबार थप २ हजार २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ५६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३९१ र ४ हजार ३० जनाकाे एन्टिजेन परीक्षण गर्दा ९०८ जना गरी २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ९६१ पुगेको छ । सक्रिय संक्रमितको संख्या २९ हजार २७४ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ हजार ४५१ कोरोना भाइरस संक्रमित निकाे भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टाना ३४ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा मा सबैभन्दा धेरै काठमाडौंमा ३१६, झापामा ८६, ललितपुरमा ७८, सुनसरीमा ७३, कास्कीमा ६४, चितवनमा ५३, धादिङमा ५२, नवलपरासी पुर्व र डोटीमा ३९/३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरी र गुल्मीमा ३७/३७ जना, नुवाकोटमा ३६, भक्तपुरमा ३४, काभ्रेपलाञ्चोकमा ३०, मोरङ र मकवानपुरमा २९/२९ जना, रुपन्देहीमा २८, तनहुँमा २५, कपिलवस्तुमा २४, पाल्पामा २३, लमजुङमा २१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै कैलालीमा १९, दैलेखमा १६ जना, धनुषा, दाङ र सुर्खेतमा १४/१४ जना, महोत्तरीमा १२ जना र रसुवामा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

१० वर्ष मुनिका ५६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।