काठमाडौं,१६ असार । नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।
आइतबार १ हजार ९२० जनामा मात्र काेराेना संक्रमण पुष्टि भएकोमा सोमबार २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै मंगलबार २ हजार ६३६ जनामा संक्रमण पुष्टि भएकोमा बुधबार २५६ जनाले बढेर २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ७ हजार १८७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८८९ जना र ४ हजार ३८१ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ३ जना गरी २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत आइतबारको तुलनामा बुधबार संक्रमितको संख्या झण्डै एक हजार जनाले बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले नेपालमा संक्रमणदर २६ प्रतिशत पुगेको छ । प्रवक्ता कृष्णप्रसाद पौडेलले जोखिम अझै नहटेको भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा ४३६, ललितपुरमा १८९ र भक्तपुरमा ४७ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५९७ जना काेराेना संक्रमित निकाे भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ रहेको छ । जसमध्ये ३० हजार ५४४ जना होम आइसोलेसनमा र ३०१७ जना संस्थागत आइसोलेसनमा छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ४१ जना कोराेना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ९ हजार ११२ जना कोराेना संक्रमितको मृत्यु भएको छ । हाल देशका १७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।