बुटवल,१४ असार ।
रुपन्देहीको तिलोत्तमामा व्यक्तिले तीन पुस्तादेखि जोतभोग गर्दै आएको जग्गा सरकारीकरण नगर्न मगर संघले माग गरेको छ ।
तिलोत्तमा-१ मगरटोलका बिकाराम सारु मगरको परिवार २०१६ सालदेखि बसोबास र खेतीपाती गर्दै आएको ११ कठ्ठा जग्गामा नगरपालिकाले स्वास्थ्य केन्द्र बनाउन खोजेपछि सारु परिवार र नेपाल मगर संघले निर्माण कार्य तत्काल रोक्न माग गरेकाे हो ।
सारु परिवारले नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिई जग्गाको छानबिन गरी जोतभोगका आधारमा न्याय दिन माग गरेपनि सुनुवाइ नभएपछि मगर संघलाई गुहारेको हो । मगर संघले उक्त जग्गामा मगर संघको झण्डा गाड्नुका साथै स्वास्थ्य केन्द्र अन्यत्र बनाउन माग गरेको छ ।
‘२०१६ सालदेखि जोतभोग गरेर बसेको जग्गामा नगरपालिकाले जबरजस्ती स्वास्थ्यकेन्द्र बनाउन खोज्नु अन्याय हो,’ मगर संघ तिलोत्तमाकी अध्यक्ष लिलमाया रानाले भनिन्, ‘सारु परिवारले हामीलाई न्याय दिनुपर्यो भनेर निवेदन दिएपछि मगर संघले न्यायिक लडाइँको अगुवाइ गरेको हो ।’
नगरपालिकाले छलफल र संवादबाट विवाद समाधान नगरी जबरजस्ती स्वास्थ्य केन्द्रको भवन बनाउन खोजे आफूहरु चरणवद्ध आन्दोलनमा उत्रिने संघर्ष समितिकी संयोजक राधिका श्रीस पुनले बताइन् । ‘वडामा स्वास्थ्य केन्द्र बनाउने सार्वजनिक जग्गा अन्यत्र पनि छन्, सारु परिवारले ६० वर्षदेखि जोतभोग गरेको जग्गामा बनाउन हामी दिँदैनौं,’ श्रीसले भनिन्, हामी संयमित भएर विवाद समाधान होस् भन्ने चाहेका छौं, नगरपालिकाले जबरजस्ती गरे आन्दोलनले असफल बनाउँछौं ।’
विकारामकी श्रीमती विष्णु सारुले बाजे ससुराको पालादेखि जोतभोग गरेको जग्गामा आफूहरु वाहेक अरुको हक नलाग्ने भन्दै न्याय दिन माग गरिन् ।
उक्त जग्गामा स्वास्थ्य केन्द्र बनाउन गत वर्ष शिलान्याश गरिएको थियो तर विरोध पछि काम शुरु भएको थिएन । यस पटक भवन बनाउन ईंटा झारेपछि मगर संघले विरोध गर्दै विवादित जग्गामा झण्डा गाडेको छ ।
नेपाल मगर संघ तिलोत्तमाका सचिव प्रेम कनौजेले वडा अध्यक्ष तामनाथ पाण्डेले गैरजिम्मेवार र हेपाहा प्रवृत्ति देखाएकाले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए ।
वडाध्यक्ष पाण्डेले भने उक्त जग्गा मन्दिरको सार्वजनिक भएकाले वडाबाट निर्णय गरेर स्वास्थ्य केन्द्र बनाउन खोजिएको बताए । उनीहरुको सोही ठाउँमा जग्गा भएकाले उनीहरु विस्थापित नहुने र कुनै अन्याय पनि नहुने वडाध्यक्ष पाण्डेले बताए । गत वर्ष नै शिलान्याश भएपनि वजेट अभावले यस वर्ष बनाउन थालिएको उनले बताए ।








