बुटवल,१३ असार । राष्ट्रिय शक्ति नेपाल अभियानकाे शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको अभियानले जनाएको छ ।
‘नेपालको संविधान–२०७२’ खारेज हुनुपर्ने,राजसंस्थाकाे पुनःस्थापना लगायतका माग राख्दै आएको राष्ट्रिय शक्ति नेपालले शनिबार बुटवलमा प्रदर्शन गरेको थियो । बुटवलको ट्राफिक चोकबाट निकालिएको कार तथा मोटरसाइकल र्यालि,राजमार्ग चौराहा परिक्रमा गरी मिलनचोक पछाडिको नयाँ सडक हुँदै हाट बजारबाट गोलपार्क पुग्दा प्रहरीले प्रदर्शनकारीलाई रोकेको राष्ट्रिय शक्ति नेपाल,रुपन्देहीका केन्द्रिय अभियन्ता निलम अधिकारीले जानकारी दिए ।
प्रहरीले माथिको आदेश भन्दै प्रदर्शनलाई बिथोल्दै ब्यानर जफत गरेको , गाडीबाट नेपालको राष्ट्रिय झण्डा समेत खोसेको र माइकिङ बन्द गरी प्रदर्शन तथा सभालाई स्थगित गरेको अभियन्ता अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी बिथलेकोप्रति अभियानले आपत्ति जनाएको छ । राष्ट्रिय शक्ति नेपाल अभियानका केन्द्रीय अभियन्ता रुपसिंह थापाले ‘कुनै एक पक्षधरलाई सम्मान गरी सो बारे स्वतन्त्र र शान्तिपूर्ण तवरले आवाज उठाउँदा प्रशासनले रोक लगाउनु गलतभएको बताए ।
शान्तिपूर्ण प्रदर्शनमा राेक लगाउनु असंवैधानिक, अस्वभाविक र वाक स्वतन्त्रता विरुद्ध रहेको भन्दै उनलेे अभियानले त्यसको निरन्तर विरोध गर्ने चेतावनीसमेत दिए ।
हिन्दुराज्य र राजसंस्थाको पुनःस्थापना तथा नेपालकाे संविधान २०७२ खारेजी र २०४७ सालकाे संविधान कार्यान्वयनकाे माग राखी बुटवलमा बेला बेलामा हजारौंको सहभागीतामा प्रदर्शन हुदै आएको छ ।
यसअघिका प्रदर्शनहरूमा भने प्रहरीले हस्तक्षेप गरेको थिएन ।








