-एलबी ठकुरी

सत्ताको रजगज विश्वव्यापी छ

ऊ सँग

न परेड खेल्ने सेना छ

न गोला बारुदको धमका छ

न्यायिक अड्डा

पैरवी र फैसला गर्न

न सेटिङमा चल्छ

न आवधिक चुनावबाटै चुनिएको छ

न आगामी चुनावकै सुर्ता छ

न सदनमा विपक्षीले रोष्टम घेर्छ

न पुत्ला दहनकै शरम् छ

उसलाई

न ढोके चम्चेले मन्त्रोचारण गर्छ

न मिडियाले र्‍युमर फैलाउँछ

न सुलसुले चलखेल गर्छ

न शक्तिराष्ट्रको थ्रेट छ

उसलाई

न ह्वाइट हाउस,

न सिंहदरबार

सर्वत्र बहुमत छ

मात्र सासमाथि रजाइँ छ

सासहरूले आदेश लिनैपर्छ

निजी सास फेर्न

हिटलर भन्दा निर्मम छ

साको दैन्य हत्या गर्दैछ

ऊ अप्रजातान्त्रिक, निरंकुश छ

भ्याक्सिनको मार्केटिङ गर्छ

भेण्टिलेटरभित्र सासलाई

हिंस्रक नङ्ग्राहरू देखाएर

र्‍याल चुहाउँदै बलात्कार गर्छ

र थुतेर अपहरण गर्छ

सोझै आर्यघाट लैजान्छ

लास जलिरहेको हुन्छ

आकासतिर धुवाँ उडिरहेको हुन्छ

उसले बाँकी सासहरूको

बगिरहेका आँसुहरूको

भत्किरहेरका घरबारहरूको

भव्य भरोसाहरू चुँडाइदिएर

भयभीत टुहुराहरूलाई हेर्दै

फुक्काफाल खितखित हास्छ

चित्कारहरुको रमिते हुन्छ

मलामीहरूसँगै आर्यघाटबाट

घर गाउँ सहर फर्किन्छ

निर्धक्क शासन सञ्चालन गर्छ

भाइरसभन्दा

विस्तारवादी

न भारत छ

अधिनायकवादी

न चीन छ

साम्राज्यवादी

न अमेरिका छ

विश्व दरबारमा सलामी थापेर

कोरोना भाइरस

बिना माइसिज्म

बिना डेमोक्रेसी

सिद्धान्तविहीन

आतंक मच्चाइरेहेछ

निस्तै अलिनो

सास चपाइरहेछ

छातीमाथि बुट बजार्दै

निर्लज्ज सत्ता हाँकिरहेछ

एकदिन

भ्याक्सिन सरकारमा जान्छ

यो फासिष्ट सत्ता विघटन हुन्छ।
साहित्यपाटीबाट