पाेखरा,४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल)ले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।
शुक्रबार बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । बाढी पीडितको अवस्था बुझ्न मनाङ गएका मुख्यमन्त्री पोखरेल केहीबेरअघि पोखरा आइपुगेका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले गएको शनिवार माओवादी केन्द्र, जनमोर्चा, जसपा र स्वतन्त्र सदस्य राजीव गुरुङको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । बहुमत दाबी गरेर सरकार गठन भएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार पोखरेलले आज बिश्वासकाे मत लिन लागेका हुन् ।
गण्डकीमा सरकार बनाउन ३१ सदस्य चाहिनेमा पोखरेललाई एमालेबाहेक सबै दलसहित ३१ जनाकै समर्थन रहेको छ । आज विश्वासको मत लिएपछि पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारीसमेत गरेका छन् ।








